खाद्यजन्य जोखिम न्यूनीकरणमा सरकारको प्राथमिकता : मन्त्री मेहता

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खाद्यजन्य रोगहरू अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको उल्लेख गर्दै त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारले सुधारमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेको बताएकी छिन्।

विश्व खाद्य स्वच्छता दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले सुरक्षित र स्वच्छ खानपानको सुनिश्चिततामार्फत जनस्वास्थ्य सुदृढ बनाउन सरकार निरन्तर सक्रिय रहेको स्पष्ट पारेकी छिन्।

मन्त्री मेहताले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिँदै खाद्य परीक्षण प्रयोगशालाको क्षमता विस्तार, जोखिममा आधारित बजार अनुगमन तथा आवश्यक नीतिगत सुधारलाई पनि तीव्रता दिइने बताएकी छिन्।

उनका अनुसार खाद्य उत्पादनदेखि भण्डारण, वितरण र उपभोगसम्मका सबै चरणमा स्वच्छता कायम गर्नु राज्यको दायित्व हो। यसका लागि असल कृषि अभ्यास, असल उत्पादन अभ्यास तथा उपयुक्त भण्डारण प्रणालीलाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने उनले जोड दिएकी छिन्।

यस्ता अभ्यासले उपभोक्तासम्म गुणस्तरीय खाद्य सामग्री पुर्याउन सहयोग गर्ने र असुरक्षित खानपानका कारण हुने स्वास्थ्य तथा आर्थिक क्षतिलाई घटाउन मद्दत गर्ने उनको भनाइ छ।

साथै, खाद्य शृंखलासँग सम्बन्धित उत्पादक, व्यवसायी, उपभोक्ता तथा अन्य सरोकारवालाले खाद्य स्वच्छताको महत्त्व आत्मसात् गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न यस दिवसले प्रेरणा दिने विश्वास उनले व्यक्त गरेकी छिन्। यस वर्ष ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने नारासहित नेपालसहित विश्वभर विश्व खाद्य स्वच्छता दिवस मनाइँदै छ।

सुझावित समाचार