एआई, डिजिटल भुक्तानीमा सहकार्य, ८४ आयोजना हस्तान्तरण

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

रास्वपा सभापति रवि लामिछाने फर्किएकै दिन भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी डा. एस जयशंकरबिच शनिबार नयाँदिल्लीमा भेटवार्ता भएको छ । वार्तामा दुई देशबिच सीमा, डुबान, बाढी नियन्त्रणदेखि ऊर्जा, जलस्रोत, विद्युत् प्रसारणलाइनलगायत विद्यमान संयन्त्र सक्रिय गराउन सहमति जनाएका छन् ।

संयन्त्रहरू सक्रिय भएपछि दुई महिनामा भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउने र पुनः द्विपक्षीय एजेन्डामा छलफल गर्ने सहमति भएको छ ।

परराष्ट्रमन्त्रीबिच भएको वार्ताका क्रममा दुई देशबिच सीमापार डिजिटल भुक्तानी कारोबारको सुरुवात, पुनर्निर्मित स्वास्थ्य र सांस्कृतिक क्षेत्र हस्तान्तरण तथा एआईसम्बन्धी सहकार्यमा समझदारीपत्र आदानप्रदान भएको छ । 

सन् २०२३ जुनमा एनसिएचएल र एनपिसिआईबिच हस्ताक्षर भएको समझदारीपत्रअन्तर्गत शुक्रबार पी–टु–पी सीमापार भुक्तानी कारोबारको सुरुवात भएको छ । दुवै मन्त्रीहरूले सुरुवातको घोषणा गरेका छन् । सीमापार व्यक्तिगत रेमिट्यान्स (विप्रेषण)लाई सहज बनाउन भारतको युपिआई र भारतको एनपिआईबिच कारोबार सुरुवातको घोषणा भएको हो । 

त्यस्तै, भारतको विकास सहायतामा नेपालमा निर्माण भएका भूकम्पपछिका ७२ स्वास्थ्य क्षेत्र र १२ सांस्कृतिक क्षेत्र गरी ८४ क्षेत्रका पुनर्निर्माण आयोजनाको भर्चुअल हस्तान्तरण भएको छ । ०७२ को भूकम्पपछि भारतीय सहयोगमा ती आयोजना निर्माण हुँदै आएका थिए । 

एआईसम्बन्धी समझदारीपत्र पनि आदानप्रदान भएको छ । ‘नेपालका लागि ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लाटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण गर्न काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल इन्डिया भाषिनी डिभिजनबिच समझदारीपत्र आदानप्रदान भएको छ । 

सुझावित समाचार