संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला ले जलवायु परिवर्तन र पर्यटन विकासका मुद्दालाई सरकारले सँगसँगै राखेर सम्बोधन गरिरहेको बताएका छन्।
जलवायु परिवर्तन र वातावरणीय विनाशले पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पारिरहेकाले यी दुई विषयलाई एकीकृत रूपमा सम्बोधन गर्दै समाधान खोज्न आवश्यक रहेको उनले बताए। जलवायु परिवर्तनको विषय वातावरणसँग मात्र सम्बन्धित छैन, यो पर्यटन, सम्पदा तथा समग्र विकाससँग पनि जोडिएको छ, सचिव निरौलाले भने। विश्व वातावरण दिवसको अवसरमा जलवायु न्याय र पर्यटन विकासमा केन्द्रित साथसाथै संस्थाले शुक्रबार आयोजना गरेको ‘हिमालय र वातावरण सम्मेलन–२०२६’ मा बोल्दै उनले जलवायु परिवर्तनले वातावरण र मानव जीवनशैलीमा पारेको नकारात्मक प्रभावबारे जनचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यम तथा नागरिक समाजको महत्वपूर्ण भूमिका रहने बताए।
जलवायु परिवर्तनका समस्या मिडियामार्फत बाहिर आउनुपर्छ। जनताका समस्या र जनसरोकारका विषय यथार्थपरक रूपमा सञ्चारमाध्यममा समेटिए नीतिगत सुधारका लागि सहयोग पुग्छ, उनले भने। ‘समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित आयोजित सम्मेलनमा सहभागी जलवायु विज्ञ तथा वातावरणविद्हरूले जलवायु परिवर्तनले स्थानीय स्तरमा पारेका असरलाई विश्वव्यापी नीति निर्माणमा समेट्न एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्रालयकी सहसचिव सवनम शिवाकोटीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा याक–चौरी पालन, स्थानीय जीवनशैली तथा उत्पादकत्वमा असर परेको बताउँदै प्रभावित समुदायको जीविकोपार्जन सुधारका लागि पर्यटन र कृषिमा सहयोग आवश्यक रहेको धारणा राखिन्। उनले कृषिमा जलवायु प्रभावबारे अध्ययन भए पनि पशुपन्छी क्षेत्रमा थप अनुसन्धान आवश्यक रहेको बताइन्।
राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी नेपालका सहायक राष्ट्रिय निर्देशक एवं जलवायु विज्ञ विजय सिंहले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र बढ्दो वायु प्रदुषण विश्वव्यापी चुनौतीका रुपमा देखापरेको बताए । सिंहले शून्य कार्बन उत्सर्जन रणनीतिलगायत अन्तराष्ट्रिय प्रतिवद्धताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको र युएनडीपीको ध्यान त्यसैमा केन्द्रित रहेको बताए ।
नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोष, खुम्बु पासाङ्गल्हामु गाउँपालिकासहितको सहकार्यमा उक्त कन्क्लेभ भएको हो । कार्यक्रममा बोल्दै साथसाथैका अध्यक्ष प्रजिता कार्कीले हिमालय क्षेत्रका विपद्, जलवायु प्रभाव, र स्थानीय जीवनयापनका चुनौतीहरूलाई उजागर गर्दै साथसाथैले सरकार, नागरिक समाज, तथा अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्दै आएको बताइन् । आफूहरुले विगत ५ वर्षदेखि पर्वतीय क्षेत्रमा महिलाको नेतृत्वलाई अगाडि ल्याउँदै, यसले जलवायु न्यायलाई सुनिश्चित गर्ने, दिगो पर्यटन, स्वच्छ ऊर्जा, र समुदाय मा आधारित समाधानलाई प्राथमिकता दिने कार्यमा निरन्तर योगदान पुर्याइरहेको कार्कीले बताइन् ।
कार्यक्रममा अध्यक्ष कार्कीले भनिन्–‘जलवायु न्यायका सबै नीति र वार्तामा महिलाको मुद्दा अनिवार्य रूपमा समावेश हुनुपर्छ।’ एक वर्ष अघि देखि साथसाथैले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा नेपालमा कोइला नियन्त्रण अभियान सुरु भएको जानकारी समेत उनले दिइन् । कार्यक्रममा नेपाली सेनाले हिमालमा प्रदुषण नियन्त्रण र सरसफाई अभियानबारे विशेष प्रस्तुतिकरण राखेको थियो ।
साथसाथैका उपाध्यक्ष डाक्टर सिद्धार्थ बज्र बज्राचार्यले जलवायु वैज्ञानिकहरू, ऊर्जा विज्ञहरू, संरक्षणकर्मीहरू, पर्वत तथा पर्यटन क्षेत्रका विशेषज्ञहरू, नीति निर्माताहरू, सरकारी प्रतिनिधिहरू तथा विकास साझेदारहरूको सक्रियतामा व्यक्तिमा रहेको ज्ञान, अनुभव र दृष्टिकोणका माध्यमबाट जलवायु, उर्जा, पर्यटन र वातावरणीय दिगोपनाका बिषयमा हुने छलफलले महत्त्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे । एक महिना अघि साथसाथैले सगरमाथाको गोक्यो ताल क्षेत्रमा गोक्यो जलवायु सम्मेलन गरेको थियो । त्यसकै सेरोफेरोमा रहेर यो कन्क्लेभ आयोजना गरेको हो ।
कार्यक्रममा सगरमाथा आरोही तेन्जिङ डेभिड शेर्पाले जलवायु परिवर्तनका कारण पर्वतारोहीहरुलाई समेत अत्यन्तै प्रभावित पारेको बताउँदै पर्वतारोहण गर्न आउनेहरूमा नकारात्मक प्रभाव पारेको बताए ।
हिमनदि विज्ञ डा. अरुणभक्त श्रेष्ठले विश्वव्यापी रुपमा जलवायु परिवर्तन, वायु प्रदुषण, जैविक विविधतामा आएको संकटका कारण पृथ्वी र वायुमण्डलको तापक्रम बढ्दै गएको जानकारी गराउँदै उच्चहिमाली क्षेत्र, हिमनदीहरुमा संकट पैदा भएको बताए। उनले जलवायु परिवर्तनका कारण भारि बर्षा हुने, भूमि मुनि जमेर रहेको माटो पग्लिएर भूक्षय हुने कार्यले मानव तथा प्राणी जगतमा संकट सृजना गरेको वताउँदै सन् २०१२ देखि २०२३ सम्म हिमनदी विस्फोटका कारण धेरै ठूलो प्राकृतिक, धनजन र भौतिक क्षति पुगेको जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सचिवालय सदस्य सरिताश्री ज्ञवालीले वातावरणमा पर्ने नकारात्मक असर रोक्नका लागि प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै वातावरणीय न्याय, संरक्षण र उपयोगका लागि सबैले एकअर्कामा समन्वय, सहकार्य र जनचेतनाका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिइन् । उनले भावी पुस्ताका लागि जलवायु संरक्षण अनिवार्य रहेको बताउँदै हिमालसंग मानवीय जीवन जोडिएको बताईन् ।
उर्जा विज्ञ कुशल गुरुङले हिमालय क्षेत्रको वातावरणीय प्रणालीको संरक्षणका लागि विद्युतको उपयोगलाई अभिबृद्धि गर्नुपर्नेमा जोड दिंदै केन्द्रीय विद्युत प्रशारण पुग्न नसकेको ठाउँमा लघु जलविद्युत र सौर्य उर्जालाई उपयोग गर्नेतीर ध्यान दिनुपर्ने र साथसाथै संस्थाले यसबारे आवाज उठाइरहनुपर्ने सुझाव राखे ।