नारायणी अस्पतालको मेडिकल सुपरिडेन्टको जिम्मेवारी सम्हालेकाहरुको पुन: सरुवा भएपनि आउन तयार नभएको पाइएको छ । यसअघि मेडिकल सुपरिडेन्टको जिम्मेवारी सम्हालेका डा.चुमनलाल दास र डा.मदन उपाध्यायको नारायणी अस्पतालको पुन: मेसुमा सरुवा भएपनि आउन तयार नभएका हुन् ।
यसअघि करिब १४ महिना सम्म मेसुको जिम्मेवारीमा बसिकेका डा.दास बैशाखको सरुवामा कुनैपनि हालतमा यहाँ आउन तयार नभएपछि उनको अन्यत्र सरुवा भएको छ । गत कातिक १८ मा नारायणी अस्पतालबाट मन्त्रालयमा सरुवा भएका डा.दासको पुन नारायणी अस्पतालमा सरुवा भएपनि उनी जान तयार नभएको स्वास्थ्य तथा खाद्य स्वच्छा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उनी अहिले भक्तपुर ठिमिको सार्क क्षयरोग अनुसन्धान केन्द्रको निर्देशक रुपमा कार्यरत छन् । डा. दासले नारायणी अस्पतालमा १४ महिना काम गरेर मन्त्रालयपछि अहिले बैशाखमा सार्क क्षयरोग अनुसन्धान केन्द्रमा सरुवा भएको बताए । नारायणी अस्पतालमा पहिलो पटक पुगेर राम्रो काम गरेका उनी अब त यहि काम गर्ने मनसाय बनाएकाले पुन: नारायणी अस्पतालमा जान नचोहको बताए ।
त्यस्तै कोभिडको समयमा मेडिकल सुपरिडेन्टको जिम्मेवारी सम्हालिसकेका डा. मदन कुमार उपाध्यायको नारायणीमा सरुवा भएपनि आउन तयार नभएको अवस्था छ । टेलिफोन सम्पर्कमा उनले आफ्नो नारायणी अस्पतालको मेसुमा सरुवा नभएकाले काठमाडौंमै कार्यरत रहेको बताए । नारायणी अस्पतालको प्रशासन शाखाका अनुसार डा. उपाध्यायको अस्पतालमा हाजिर हुनलाई पत्र आएपनि उनी यहाँ आउन नमानेका हुन् ।
अस्पतालमा बिना राजनीति नगरी निष्पक्ष भएर काम गर्न सक्ने वातावरण नै नभएका कारण विगतमा बसिसकेकाहरु यहाँ आउन तयार नभएका हुन् । मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख यशोदा अर्याललाई यसबारेमा बुझ्दा सम्पर्क नै हुन सकेन । गत कात्तिक १८ देखि निमित्त मेसुमा १० औँ तहका डा.चितरन्जन साह जिम्मेवारी सम्हालेका छन् ।