देवचुली नगरपालिका– १४, प्रगतिनगरस्थित पूर्व–पश्चिम राजमार्गमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मध्यविन्दु नगरपालिका– १ निवासी ५१ वर्षीय ओमनारायण गुरौ (थारू) गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलचालक भारत घर भएका अन्दाजी २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज, चितवन पठाइएको छ।
प्रहरीका अनुसार ना.५ख १७५७ नम्बरको ट्रकको टायर पड्किएपछि सडकछेउमा रोकी मर्मत गर्ने क्रममा ग.१०प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किएको थियो।
दुर्घटनापछि ट्रकचालक बर्दघाट नगरपालिका– १०, भुताहानिवासी ५२ वर्षीय भीमबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।