महोत्तरीको सम्सी गाउँपालिका– २ स्थित सम्सी–गौशाला सडकखण्डको पर्सा देवाडमा स्थानीयहरूले विद्युत् समयमा मर्मत नगरेको विरोधमा सडकजाम गरेकोमा प्रहरीको समन्वयमा अवरुद्ध सडक खुलाइएको छ । विद्युत् प्राधिकरणले बिग्रेको लाइन मर्मत गर्न इन्जिनियरसहितको टोली खटाएर नयाँ तार ओछ्याउन थालेपछि स्थानीयले अवरुद्ध सडक खोलेका हुन् ।
नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रका प्रमुख इन्जिनियर उमेशप्रसाद यादवले सोही ठाउँमा निकै पुरानो तार रहेकोमा पटक–पटक लाइन काट्ने समस्या रहेकोमा आफ्नो टोली सोही समयदेखि लाइन मर्मतको कार्य गरिरहेको र अहिले नयाँ तार ओछ्याउने कार्य अन्तिम चरणमा रहेको साथै स्थानीयहरूले थप ट्रान्सफर्मरसमेत माग गरेकोमा त्यसका लागि समेत प्रक्रिया थालिसकेको बताए ।
स्थानीयहरूले गर्मीको समयमा पटकपटक लाइन अवरुद्ध हुँदा बालबालिका तथा ज्येष्ठ नागरिक अति प्रभावित भएपछि आफूहरू बाध्य भएर सडकमा आउनुपरेको प्रतिक्रिया दिए । उनीहरूले अब लाइन मर्मतपछि पुनः पटकपटक अवरुद्ध नहुने अपेक्षासहित आफूहरू सडक खोल्न राजी भएको बताए ।