पहिलोपटक संसदीय समितिले सदस्यका लागि बनायो आचारसंहिता

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

संसदीय समितिले पहिलोपटक सदस्यहरूका लागि आचारसंहिता बनाएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आफ्ना सदस्यलाई अनुशासनमा बाँध्न छुट्टै आचारसंहिता बनाएको हो । यसअघि समितिहरूले आफ्नो कार्यविधिमा संक्षिप्तमा आचारसंहिताको विषय समेट्ने गरे पनि शिक्षा समितिले छुट्टै समिति बनाएर पारित गरेको हो ।

समिति सचिव दशरथ धमलाले सदस्यहरूको मागकै आधारमा आचारसंहिता निर्माण गरिएको बताए । ‘समिति सदस्यहरूले नै आचारसंहिता आवश्यक छ भनेर माग गर्नुभयो । हामीले संविधान र प्रतिनिधिसभा नियमावलीको भावनाअनुरूप आचारसंहिता निर्माण गरेर समितिबाट पारित गरी लागू गरेका छौँ,’ उनले भने ।

धमलाका अनुसार समितिको दोस्रो बैठकबाटै आचारसंहिता चाहिने माग उठेको थियो । खासगरी रास्वपा सांसदले उठाएको आचारसंहिताको मागलाई अन्य पार्टीका सांसदले पनि समर्थन जनाएका हुन् ।

अघिल्लो समिति आचारसंहिता नहुँदा प्रभावकारी हुन नसकेको, समय व्यवस्थापन फितलो भएको देखेपछि त्यसलाई सुधार्न सदस्यहरूले आफैँ आचारसंहिताको आवश्यकता महसुस गरेका थिए ।

उनीहरूले समितिको बैठक समयमा सुरु गर्नुपर्ने, निर्धारित समयभित्र सकिने गरी निर्धारण गर्नुपर्ने, सबै सदस्य उपस्थित हुनुपर्ने र स्वार्थको द्वन्द्वलाई ध्यान दिनुपर्ने सुझाव दिएका थिए । 

सुझावित समाचार