नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेशराय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन लागिपरेको आरोपमा जवाफ नदिएपछि अनुशासन समितिले यादवलाई निलम्बन गरेको हो।
अनुशासन समितिले यादवलाई अनुशासन उल्लंघनको कसुरमा पहिलोपटक वैशाख ३० गते पाँचदिने र जेठ १२ गते तीनदिने स्पष्टीकरण सोधेको थियो। दोस्रो पटकसमेत जवाफ नदिएपछि बिहीबार बसेको अनुशासन समितिको बैठकले यादवलाई अन्तिम निर्णय नहुन्जेलसम्मका लागि जिल्ला सभापतिबाट निलम्बन गरेको हो।
सो बैठकले बारा उपसभापति अमिरीलाल राउत (पाल)लाई भने सफाइ दिएको छ। वैशाख १६ गते स्पष्टीकरण सोधिएकोमा राउतले जेठ १० गते जवाफ पेस गरेका थिए। सन्तोषजनक जवाफ दिएपछि कारबाही गर्नुपर्ने अवस्था नदेखिएकाले उनलाई आरोपबाट सफाइ दिएको अनुशासन समितिको ठहर छ।