सुनसरी–मोरङ औद्योगिक करिडोर तथा विराटनगर महानगर क्षेत्रभित्र केही दिनयता दैनिक रूपमा भइरहेको विद्युत् ट्रिपिङ र भोल्टेज फल्क्च्युएसन समस्या बढेको भन्दै समाधान गर्न उद्योग संगठन मोरङले माग गरेको छ ।
विद्युत् ट्रिपिङ (आपूर्ति स्वतः बन्हुने) र भोल्टेज फल्क्च्युएसन (उतार–चढाव) समस्याले सुनसरी–मोरङ औद्योगिक करिडोर तथा विराटनगर महानगरभित्रका उद्योग, व्यवसाय र सर्वसाधारण नागरिक गम्भीर समस्यामा परेको भन्दै उद्योग संगठन मोरङले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराउँदै समस्या समाधान गर्न माग गरेको हो ।
बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध–निर्देशक तथा नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालयका निर्देशकलाई पत्राचार गर्दै समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए ।
अध्यक्ष राठीका अनुसार औद्योगिक क्षेत्रमा हाल दैनिक १० देखि १२ पटकभन्दा बढी विद्युत् ट्रिपिङ हुने गरेको र त्यसले उद्योग सञ्चालनमा प्रत्यक्ष असर पुर्याइरहेको छ । बारम्बारको विद्युत् अवरोधका कारण उद्योगका मेसिन तथा उपकरणमा क्षति पुग्ने, उत्पादन प्रक्रियामा रहेका कच्चापदार्थ नष्ट हुने तथा उत्पादन कार्य नै अवरुद्ध हुँदा श्रमिकहरू निष्क्रिय बस्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ । जसले गर्दा उद्योगहरूले ठुलो आर्थिक नोक्सानी व्यहोर्न थालेका छन् ।
यसैगरी विद्युत् आपूर्ति अस्थिर हुँदा उद्योगहरूले बाध्य भएर महँगो मूल्यको इन्धन प्रयोग गरेर जेनेरेटर प्रयोग गर्नुपर्ने अवस्था आएको छ । इन्धनको बढ्दो मूल्यका कारण उत्पादन लागत उल्लेख्य रूपमा बढ्ने भएकाले उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमतामा समेत नकारात्मक प्रभाव पारिरहेको उद्योगीहरूको गुनासो छ ।
बढ्दो विद्युत् ट्रिपिङ तथा फल्क्च्युएसनका कारण उद्योग–व्यवसाय मात्र नभई सर्वसाधारणको दैनिक जीवन पनि प्रभावित भइरहेको छ । यो समस्याले गर्दा विद्युतीय उपकरणको प्रयोगमा समस्या उत्पन्न भएको छ भने विद्यार्थीको अध्ययन, कार्यालयका कामकाज तथा घरायसी गतिविधिसमेत प्रभावित हुन थालेको छ ।