कैलालीको टीकापुरमा अन्तरव्यवस्थापिका सम्मेलन हुने भएको छ। अन्तरव्यवस्थापिका मञ्चको आयोजना तथा सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा हुन लागेको सम्मेलन यही २३ जेठमा उद्घाटन हुनेछ।
सम्मेलनमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सातवटै प्रदेशका सभामुख, उपसभामुख, संघ र प्रदेश संसद्का सचिवलगायतको सहभागिता रहनेछ। जेठ २४ गते घोषणापत्र जारी गरेर सम्मेलन समापन गर्ने गरी कार्यक्रम तय गरिएको सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए।
सुदूरपश्चिम प्रदेशमा पहिलोपटक यो सम्मेलन हुन लागेको हो। सम्मेलनमा कानुन निर्माण, कार्यान्वयनको अवस्था, सभा सञ्चालन, संसद्का कठिनाइलगायत विषयमा छलफल हुनुका साथै संघ र प्रदेशका अनुभवहरू आदानप्रदान गरिने सभामुख भण्डारीले बताए। सरकारलाई सदनप्रति कसरी उत्तरदायी बनाउने भन्ने विषयमा पनि छलफल हुने उनले जानकारी दिए।
सम्मेलनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सभामुख भण्डारीले मूलतः कानुन निर्माण तथा सभालाई कसरी अझ व्यवस्थित, मर्यादित ढंगले कसरी सञ्चालन गर्न सकिन्छ भन्नेमा छलफल केन्द्रित रहने बताए। उनका अनुसार बजेट सदनले पारित गर्ने, बजेटको दायित्व सभातिर जाने, तर बजेटमा सरकार अराजक ढंगले प्रस्तुत हुने गरेको विषय पनि छलफलका रूपमा रहनेछ।
‘नीति, कार्यक्रम र बजेटका सिद्धान्त एकातिर हुने, बजेटका कार्यक्रम अर्कोतिर आउने गरेको छ। सभाका तर्फबाट यसमा सरकारलाई कसरी उत्तरदायी बनाउन सकिन्छ भन्नेमा चासो हुन्छ,’ सभामुख भण्डारीले भने। निर्माण भएका कानुनको कार्यान्वयनको अवस्थाबारे उत्तरविधायिकी परीक्षणमा जार्नुपर्छ भन्ने विषयमा पनि छलफल हुने उनले जानकारी दिए।
सभामुख, उपसभामुख तथा संसद्का सचिवका छुट्टाछुट्टै समूह बनाएर यी विषयहरूमा छलफल गरिने बताइएको छ। उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिमका सभामुख भण्डारीले गर्नेछन् भने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल विशेष अतिथिका रूपमा रहनेछन्। उद्घाटनमा अध्यक्ष दाहालसहित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शुभकामना मन्तव्य दिनेछन्।
त्यही दिन संघीय संसद्का सचिव डा. रोजनाथ पाण्डेयले संसद्का प्रमुख कार्यहरू तथा संघीय संसद्कै सूचना प्रविधिविज्ञ विनित सत्यालले डिजिटल पार्लियामेन्टसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यस्तै, संविधानसभा सदस्य खिमलाल देवकोटाले कानुन निर्माण प्रक्रिया, संघ, प्रदेश र स्थानीय तहको समन्वय र साझेदारी तथा पूर्वसचिव डा. सुरेन्द्र अर्यालले आदर्श बजेट निर्माण प्रक्रिया र अभ्यासबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
सभा सञ्चालनलगायतका विषयमा अनुभव आदान–प्रदान, पूर्वसम्मेलनहरूको समीक्षा, आगामी कार्यदिशालगायत विषयमा सबै प्रदेशका सभामुख र उपसभामुखले धारणा राख्नेछन्। दोस्रो दिनको सत्रको अध्यक्षता तथा सहजीकरण प्रतिनिधिसभाका सभामुख अर्यालले गर्ने कार्यक्रम छ। मञ्चको संयोजक प्रतिनिधिसभाका सभामुख रहने व्यवस्था छ।