जातीय विभेदका घटना अन्त्य गर्न सामाजिक चेतना आवश्यक : आङ्देम्बे

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कानुनी तथा संवैधानिक व्यवस्था हुँदाहुँदै पनि समाजमा जातीय विभेद र छुवाछुतका घटना भइरहनु चिन्ताजनक रहेको बताएका छन्।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले छुवाछुतजस्ता अमानवीय व्यवहारले मानव मर्यादा, सामाजिक सदभाव तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर आघात पुग्ने भएकाले कुनै पनि बहानामा यस्ता कार्य स्वीकार्य हुन नसक्ने बताएका हुन्।

नेता आङ्देम्बेले विभेद अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन मात्र पर्याप्त नहुने उल्लेख गर्दै समाजमा चेतना, सहिष्णुता, पारस्परिक सम्मान र समान व्यवहारको संस्कृतिको विकास अपरिहार्य रहेकोमा जोड दिएका छन्।

उनले जातीय विभेदमुक्त, समतामूलक र सभ्य समाज निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता र सक्रिय सहभागिता आवश्यक रहेको पनि बताएका छन्।

सुझावित समाचार