ठेक्का लिएर समयमै काम नगर्ने कञ्चनपुरका सात निर्माण कम्पनीका १५ ठेक्का तोडिएका छन्। पूर्वाधार विकास कार्यालय कन्चनपुरले जिल्लाका विभिन्न स्थानमा सडक र पुल निर्माणको ठेक्का लिएर काम नगर्ने ठेकेदार कम्पनीका १५ ठेक्का तोडेको हो।
पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता गरेर म्याद थप गर्दासमेत काम सम्पन्न नगर्ने कम्पनीको ठेक्का तोडिएको जनाएको छ। कार्यालयका प्रमुख पदम मडैले सम्झौताअनुसार काम नगरी ठेक्का अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का तोडिएको बताए।
एसएन निर्माण तथा परामर्श सेवा, नागार्जुन निर्माण सेवा, राधाभानु निर्माण सेवा, गणपति कन्स्ट्रक्सन, आरपी कन्स्ट्रक्सन र नागार्जुन कन्स्ट्रक्सन निर्माण कम्पनीको ठेक्का तोडिएको छ। उनका अनुसार कार्यालयसँग सम्झौता गरेर समयमै काम नगर्ने २५ ठेक्का तोड्ने तयारी भए पनि १० ठेक्काका निर्माण व्यवसायीले काम सुरु गरेपछि उनीहरूलाई मौका दिइएको हो।
कार्यालय प्रमुख मडैका अनुसार एसएन निर्माणको चार, नागार्जुनको तीन, राधाभानुका २, गणपतिका ४ तथा आरपी र नागार्जुनका १-१ ठेक्का तोडिएका हुन्। सार्वजनिक खरिद ऐन ०६३ को दफा ५९(७) को आधारमा ठेक्का अन्त्य गरिएको हो।
ठेक्का रद्द गरिएका यी ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद नियमावली, ०६४ को नियम १४१ र ठेक्का सम्झौताको प्रावधानबमोजिम कालोसूचीमा राख्न सिफारिस गरिने बताइएको छ। ठेक्का सम्झौताको प्रावधानबमोजिम कार्य सम्पादन जमानत, धरौतीबापतको रकम पेस्कीसमेत जफत गरिनेछ।
पूर्वाधार विकास कार्यालयले १४ जेठ ०८३ मा ठेक्का सम्झौता तोड्दै १५ दिनभित्र निर्माण व्यवसायीलाई वित्तीय फरफारक गर्नसमेत समय दिएको छ। कार्यालयले ठेक्का तोडेपछि निर्माण व्यवसायी असन्तुष्ट भएका छन्। निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष पुष्पराज अवस्थीले सिधै ठेक्का तोड्नुभन्दा मौका म्याद दिनुपर्ने बताए।