१० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

संखुवासभामा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। आज बुधबार बालिकाकी आमाले दिएको जाहेरीका आधारमा ३० वर्षीय अरुण राई पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।

प्रहरीले राईलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाएको जनाएको छ।

त्यसैगरी, जबर्जस्ती करणी मुद्दामा १० वर्षदेखि फरार प्रतिवादीलाई पनि जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। प्रहरी निरीक्षक राजवंशीका अनुसार पाँचखपन नगरपालिका– ५, खमारेका ५६ वर्षीय द्राेणप्रसाद पोखरेललाई जिल्ला अदालत संखुवासभाले २०७१ साल चैत २९ गते १० वर्ष कैद सजाय सुनाएको थियो।

अदालतको फैसलापछि फरार भएका पोखरेललाई हिजो मंगलबार मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ बाट पक्राउ गरी आज बुधबार जिल्ला अदालत संखुवासभा चैनपुरमा उपस्थित गराइएको हो।

सुझावित समाचार