सिलीचोङ गाउँपालिकाद्वारा उत्कृष्ट, विद्यार्थी, शिक्षक र विद्यालय सम्मानित

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

संखुवासभाको सिलीचोङ गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरिएको छ । सोमबार एक कार्यक्रमबिच सिलीचोङ गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकास्तरीय उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरिएको हो ।

कार्यक्रममा आधारभूत तह (कक्षा–८) उत्तीर्ण उत्कृष्ट छात्र–छात्रा, विषयगत उत्कृष्ट शिक्षक तथा उत्कृष्ट विद्यालयलाई सम्मान गरिएको सिलीचोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत प्रवीण राईले बताए । उनले शिक्षा क्षेत्रमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरिएको बताए ।

गाउँपालिकाभित्र उत्कृष्ट छात्रतर्फ सगरमाथा माध्यमिक विद्यालयका आयुस कुलुङ छनौट भएका छन् भने छात्रातर्फ रिदम कुलुङ सम्मानित भएका छन्। त्यसैगरी विषयगत उत्कृष्ट शिक्षकतर्फ नेपाली विषयका रामकुमार राई, अंग्रेजी विषय शिक्षक मित्राकुमारी राई, स्वास्थ्य तथा शारीरिक शिक्षाकी सुझना राई, गणित विषयका विजयकुमार दास तथा विज्ञान र कम्प्युटर विषयका कला बस्नेत सम्मानित भएको गाउँपालिकाले जनाएको छ । त्यसैगरि सामाजिक मूल्य र मान्यता विषयतर्फ देवराज राई सम्मानित भएका छन् भने बाला माध्यमिक विद्यालय, बाला उत्कृष्ट विद्यालय घोषित भएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले शिक्षकहरू राष्ट्र निर्माणका आधार स्तम्भ भएको उल्लेख गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूको योगदानको उच्च मूल्यांकन हुनुपर्ने बताए । उनले यस्ता सम्मान कार्यक्रमले शिक्षक तथा विद्यार्थीहरूमा थप उत्साह, प्रेरणा र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देविता कुलुङ, वडा अध्यक्षहरू देवेन्द्र वान्तावा, मोहन शम्सेर कुलुङ, अनिस कुलुङ, प्रमुख प्रशासकीय अधिकृत प्रविण राई लगायत जनप्रतिनिधि, शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
 

सुझावित समाचार