रास्वपा महाधिवेशन तयारीका लागि १८ उपसमिति

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन तयारीका लागि १८ वटा उपसमिति गठन गरेको छ । आगामी ७–९ असारसम्म चितवनमा हुने महाधिवेशन तयारी लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको रास्वपाले उपसमितिहरू पनि बनाएको हो ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार मूल आयोजक समितिमा डा. स्वर्णिम वाग्ले, कवीन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनीष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोविता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकाल तथा सबै केन्द्रीय सदस्यहरू र सबै प्रदेश सभापतिहरू सदस्य छन् ।

मूल आयोजक समितिअन्तर्गत सोमबार गठित उपसमितिहरूमा कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति, गुनासो व्यवस्थापन उपसमिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति, कानुनी समन्वय उपसमिति, प्रचार–प्रसार तथा सञ्चार समन्वय उपसमिति, सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति, सूचना प्रविधि उपसमिति, आवास तथा भोजन व्यवस्थापन उपसमिति, अतिथि सत्कार उपसमिति, हल तथा मञ्च व्यवस्थापन उपसमिति, स्वास्थ्य सेवा उपसमिति, सांस्कृतिक कार्यक्रम उपसमिति, यातायात व्यवस्थापन उपसमिति, स्थानीय समन्वय सहकार्य उपसमिति, अभिलेखीकरण तथा दस्तावेजीकरण उपसमिति, अनुशासन उपसमिति रहेको छ । ‘उपसमितिहरूलाई आजैदेखि काम सञ्चालन हुने गरी पत्राचार गरिसकियो,’ बुर्लाकोटीले भने ।

महामन्त्री बुर्लाकोटीले महाधिवेशनको तीव्र तयारी भइरहेको बताए । ‘समग्रमा भन्दा चितवनमा भेन्यु कता सम्भावना छ भनेर हेर्दै छौँ । जिल्ला अधिवेशन २३ र २४ छ । त्यसपछि प्रदेश अधिवेशन छ । त्यहाँबाट प्रतिनिधि छनोट भएर आउँछन् । पालिकाबाट आउने प्रतिनिधिका काम लगभग पूर्ण भएका छन् । पालिकाबाट आउने प्रतिनिधिको अभिलेखीकरण भइरहेको छ । त्यहाँबाट संकलन भएर प्रदेश हुँदै केन्द्रमा आउँछ । उपसमितिले गर्ने तयारी पनि तत् ठाउँमा सुरु भइसकेको छ,’ उनले भने । 

सुझावित समाचार