प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भिजिट भिसा प्रणालीको दुरुपयोग नियन्त्रण गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद खुश्बु ओलीले उठाएको प्रश्नको जवाफ दिँदै उनले भिजिट भिसासम्बन्धी विद्यमान व्यवस्था र त्यसमा देखिएका चुनौतीबारे सरकारको धारणा स्पष्ट पारे।
प्रधानमन्त्री शाहका अनुसार भिजिट भिसामा विदेश पुगेका नेपालीले त्यहाँ रोजगारीको अवसर पाए पनि श्रम स्वीकृति प्रक्रियाका लागि पुनः नेपाल फर्किनुपर्ने बाध्यता रहेको विषयमा अध्ययन भइरहेको छ। उक्त प्रक्रियालाई सहज र व्यवस्थित बनाउन श्रम मन्त्रालयले वैकल्पिक व्यवस्था तयार पार्ने दिशामा काम गरिरहेको उनले जानकारी दिए।