कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देहीको विद्यालयलाई कुलर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय कोटिहवामार्फत पशुपति माध्यमिक विद्यालयलाई कुलर सहयोग गरेको हो । बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्तबाबु आचार्यले विद्यालयका प्रधानाध्यापक वेदनारायण भट्टराईलाई तीन थान कुलर हस्तान्तरण गरेका हुन् ।
विद्यालयमा गरिब तथा जेहेनदार विद्यार्थी अध्ययनरत रहेको र गर्मीमा अध्ययन–अध्यापन गर्न कठिन हुने हुँदा सहयोग गरिएका कुलर उपयोगी साबित हुने बैंकको विश्वास छ । प्रधानाध्यापक भट्टराईले विद्यालयमा कुलर जडान भएपछि कक्षाकोठाभित्रको तापक्रम न्यूनीकरण भई विद्यार्थीलाई सहज र अनुकूल वातावरणमा अध्ययन गर्न मद्दत पुग्ने बताए ।
यसप्रकारको सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास बैंकका बुटवल क्षेत्र प्रमुख आचार्यले व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो । यससँगै बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।