पृथ्वीचोकका अनधिकृत भवनमा पोखरा महानगरको डोजर

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

नगर क्षेत्रभित्रका सार्वजनिक/ऐलानी/पर्ति जग्गा खाली गराउने क्रममा रहेको पोखरा महानगरपालिकाले पोखरा– ९, पृथ्वीचोकस्थित विभिन्न संघसंस्थाले जग्गा कब्जा गरी निर्माण गरेको भवनमा बिहीबार डोजर चलाएको छ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल ट्रेड युनियन कंग्रेस, नेकपा एमालेनिकट मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (जिफन्ट) गण्डकीसँगै सामुदायिक प्रहरी सेवा केन्द्र, हिमाली सांस्कृतिक परिवार, साहारा क्लबलगायतका संघसंस्थाले निर्माण गरेको भवनमा महानगरले डोजर चलाएको हो। भवनसँगै साहारा क्लबले सञ्चालन गरेको सार्वजनिक शौचालयमा समेत डोजर चलेको छ।

यसअघि गत ४ वैशाखमा ३५ दिने सूचना जारी गरेको महानगरले सार्वजनिक-ऐलानी-पर्ती जग्गा मिचेर अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन भनेको थियो। सोही सूचनाको म्याद ९ जेठमा सकिएपछि महानगरले बिहीबार पृथ्वीचोकस्थित अनधिकृत भवन हटाएको हो। हङकङ बजारअगाडि रहेका जग्गामा ती संघसंस्थाले भवन बनाएर मासिक लाखौँ भाडा उठाउँदै आएका थिए। राजनीतिक संरक्षणका आडमा नगर विकास समितिको जग्गा कब्जा गरी गैरकानुनी रूपमा भाडा उठाउँदै आएका ती संघसंस्थाले सर्वदलीय-सर्वपक्षीय बैठकपछि भवन छाड्न तयार भएका थिए। ती संघसंस्थाले करिब तीन दशक सुरुमा एकतले र पछि तला थप्दै भाडा लगाउँदै आएका थिए।

महानगरको सूचनापछि पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोकस्थित नेपाली कम्युनिस्ट पार्टीनिकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले प्रयोग गर्दै आएको भवनसहितको चार रोपनी जग्गा ९ जेठमा फिर्ता गरेको थियो। महासंघले २०६७ सालमा करिब एक करोड ५३ लाखको लागतमा निर्माण गरेको १३ कोठे भवन महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमले पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका पोखराका मेयर धनराज आचार्यलाई हस्तान्तरण गरेका थिए।

पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको पृथ्वीचोकस्थित बसपार्कअगाडि संघसंस्थाको कार्यालय रहेको उक्त स्थान खाली गरेपछि नयाँबजार जाने सडक दुईतर्फी सवारी सञ्चालन गर्न सक्ने गरी विस्तार गर्ने मेयर आचार्यले जानकारी दिए। सो सडक विस्तारसँगै पृथ्वीचोकको जामसमेत केही कम हुने अपेक्षा गरिएको छ। सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत भवनहरूमा डोजर चलाइएको आचार्यले बताए।

फिर्के खोलामा डोजर जारी, १६० मध्ये १०५ संरचना भत्काइयो
पोखराका विभिन्न भाग भएर बग्ने फिर्के खोला अतिक्रमण गरी खोलाघरभित्र निर्माण गरिएका संरचनाहरू हटाउने क्रम पनि जारी छ। आइतबारदेखि महानगरले डोजर चलाउन सुरु गरेकामा बिहीबारसम्म १०५ संरचना भत्काइएको छ। यसअघि ४ वैशाखमा जारी गरेको सूचनालाई समेत आधार मान्दै ९ जेठभित्र आफैँ संरचनाहरू हटाउन सरोकारवालाहरूका लागि महानगरले पुनः ६ जेठमा सूचना जारी गरेको थियो।

सुझावित समाचार