शिक्षा, स्वास्थ्य र रोजगारीमा बजेट वृद्धि गर्ने ललितपुर महानगरको तयारी

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाका मेयर  चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिने बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित अंगदाता सम्मान कार्यक्रममा बोल्दै मेयर महर्जनले महानगरपालिकाले विगत केही वर्षदेखि पूर्वाधार तथा सम्पदा संरक्षणमा केन्द्रित भएर काम गरेको उल्लेख गर्दै अब सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्ने समय आएको बताए ।

उनले अधिकांश वडामा सडक, ढल, सम्पदा पुनर्निर्माणलगायत पूर्वाधार विकासका काम लगभग सम्पन्न भइसकेको जानकारी दिए । विशेषगरी पछि महानगरसँग जोडिएका खोकना, हरिसिद्धी, बुङमती र धापाखेल क्षेत्रमा केही पूर्वाधार विकासका काम बाँकी रहे पनि अब ती क्षेत्रमा अतिरिक्त ठुलो बजेट आवश्यक नपर्ने उनको भनाइ थियो ।

मेयर महर्जनका अनुसार आगामी बजेटमा विद्यालय शिक्षा सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा युवालाई लक्षित रोजगारी र सिप विकास कार्यक्रमलाई विशेष प्राथमिकता दिइनेछ ।

उनले महानगरपालिकाले अब नागरिकको जीवनस्तर उकास्ने दीर्घकालीन सामाजिक विकासका योजनामा लगानी केन्द्रित गर्ने नीति लिएको पनि बताए ।

सुझावित समाचार