मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। सत्तागठबन्धनमा रहेको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार यादवले दोस्रोपटक प्रदेश सभामा विश्वासको मत लिएका हुन्।
प्रदेश सभामा उपस्थित एक सय सांसदमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको छ भने विपक्षमा ३६ मत परेको सभामुख रामआशिष यादवले जानकारी दिए। मुख्यमन्त्री यादवले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिएका हुन्।
मुख्यमन्त्री यादवलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तथा नेपाल संघीय समाजवादी पार्टीले समर्थन गरेका छन्। गत मंसिरमा सात दलको समर्थनमा तत्कालीन एमाले नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए। तर, सरकार गठन भएको ६ महिनामै फेरि एमालेकै समर्थनमा उनले आफ्नो नेतृत्वको सरकार जोगाउन सफल भएका हुन्।
यसअघि सत्तागठबन्धनकै प्रमुख सहयोगी दल जसपाले कांग्रेस नेतृत्वको सरकार ढाल्ने प्रयास गरेपछि १ जेठमा तय गरिएको विश्वासको मत अन्तिम समयमा स्थगित गरिएको थियो। त्यसपछि केन्द्रमा कांग्रेस, एमाले र नेकपाबिच बनेको नयाँ गठबन्धनको प्रभाव मधेश प्रदेशमा पनि परेको छ।
विश्वासको मतअघि बिहीबार राति मुख्यमन्त्री यादवले जसपाका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेका मोहम्मद समीरलाई विनाविभागीय मन्त्रीका रूपमा शपथ गराएका थिए।