दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको जग्गा नापजाँच गरिएको छ। अतिक्रमित जग्गा छुट्याउनका लागि जिल्ला प्रशासन कार्यालय दाङको प्राविधिक टोलीले मंगलबार जग्गा नापजाँच गरेको हो।
नापजाँचका क्रममा अस्पतालको करिब २५ कट्ठा ६ धुर जग्गा अतिक्रमणमा परेको प्रारम्भिक रिपोर्ट आएको तुलसीपुर उपमहानगरपालिकाका अमिन विक्रम गौतमले बताए। उनका अनुसार ती स्थानमा ५० भन्दा बढी निजी घर बनाइएका छन्।
उत्तरतिरको जग्गा सबैभन्दा बढी अतिक्रमणमा परेको छ भने पश्चिम रानीजरुवा र पूर्वतिर पक्की घरहरू बनेकाे पाइएको अमिन गौतमले बताए। उत्तरतर्फ ३५, पूर्वतर्फ ८ तथा रानीजरुवा आसपासमा १० भन्दाी घरहरू निर्माण भएको प्रारम्भिक रिपोर्ट छ। तर, अब केही दिनमा सबै घरको तथ्यांक आउने गौतमले बताए।
तीनवटा कित्तामा रहेको अस्पतालको कुल ७ विघा जग्गा छ। तर, कित्ता नं ७८ को जम्मा ५ बिघा ६ कट्ठा ३ धुरमध्ये २३ कट्ठा जग्गा अतिक्रमणमा परेको पाइएको छ। त्यसैगरी कित्ता नं ७५ को १ विघा १ कट्ठामध्ये एक कट्ठा १० धुर र कित्ता नं २६८४ को १ कट्ठा ५ धुर जग्गा अतिक्रणमा परेको छ।
अस्पतालको जग्गा अतिक्रणमा परेकाले संरचना विस्तारमा समस्या हुने गरेको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले बताए। प्राविधिकसहितको टोलीले नापजाँच गरेकाले विस्तृत प्रतिवेदन आएपछि जग्गा खाली गर्ने प्रक्रिया अघि बढाउने उनको भनाइ छ। अतिक्रमित जग्गाको दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको टोलीले पनि अनुगमन गरेको थियो।