प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेट निर्माणका विषयमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको समिति बैठकपछि सभापति डा. कृष्णहरि बुढाथोकीले बजेट तर्जुमासम्बन्धी सरकारलाई सुझाव तथा निर्देशन दिन विज्ञहरूसँग परामर्श गरिने जानकारी दिए।
बैठकमा समिति सदस्यहरूले आगामी बजेटका प्राथमिकता र व्यवस्थापनका विषयमा आफ्ना धारणा राखेका थिए। सदस्यहरूले उठाएका विषयलाई समेटेर विज्ञहरूसँग थप छलफल गरी सरकारलाई आवश्यक सुझाव र निर्देशन दिइने सभापति बुढाथोकीले बताए।
त्यसैगरी, समितिअन्तर्गतका उपसमितिहरूलाई पनि आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा बजेट तर्जुमाका लागि थप सुझाव पेस गर्न निर्देशन दिइएको उनले जानकारी दिए।