चन्द्रपुर नगरपालिकाले विद्यालय र सरकारी कार्यालयको बिदा कटौती गर्ने

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

चन्द्रपुर नगरपालिकाले अबदेखि विद्यालय र सरकारी कार्यालयको बिदा कटौती गर्ने निर्णय गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबारदेखि शुक्रबारसम्म नियमित सञ्चालन हुने जनाएको हो।

नगर कार्यपालिकाको निर्णयअनुसार यसअघि कायम रहेको अतिरिक्त बिदा हटाउँदै शिक्षण गतिविधि नियमित बनाउने तयारी गरिएको छ। नगरपालिकाले जारी गरेको सूचनामा विद्यालयहरू साबिकबमोजिम आइतबारदेखि शुक्रबारसम्म सञ्चालन हुने उल्लेख छ।

यस्तै, नगरपालिका कार्यालय, मातहतका स्वास्थ्य संस्था, पशु सेवा तथा कृषि शाखा, वडा कार्यालय र अस्पतालहरू पनि अब आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म तथा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

नगर प्रमुख सञ्जयकुमार काफ्लेद्वारा हस्ताक्षरित सूचनाअनुसार यो व्यवस्था २०८३ साल जेठ १० गतेदेखि लागू हुनेछ। चन्द्रपुर नगरपालिकाको यो निर्णयपछि सेवाग्राहीलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ भने विद्यालयमा पढाइको समयसमेत बढ्ने विश्वास गरिएको छ।

सुझावित समाचार