सरकारी ठुला अस्पतालहरूमा करोडौँका स्वास्थ्य उपकरणहरू प्रयोगविहीन बनेका छन्। महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार अस्पतालको हेलचेक्र्याइँ र दक्ष जनशक्तिको अभावमा अत्याधुनिक उपकरणहरू वर्षौँदेखि थन्किएका हुन्।
प्रतिवेदनअनुसार फितलो व्यवस्थापनकै कारण काम लाग्ने अवस्थाका उपकरण थन्किएका छन्। त्यस्ता उपकरण प्रयोगविहीन बनाउने अस्पतालहरूमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरदेखि नेपाल प्रहरी अस्पतालसम्म छन्।
कराेडौँ खर्चेर किनिएका उपकरणहरू कबाड बन्दा एकातर्फ राज्यलाई करोडौँ रकमको हानि भइरहेको र अर्कातर्फ बिरामीको उपचारसमेत प्रभावित बन्ने गरेको छ। हाल राष्ट्रिय ट्रमा सेन्टरमा पाँच करोड ३७ लाख ८२ हजार रुपैयाँ मूल्यको क्याथल्याब मेसिन थन्किएको छ। यो मेसिन चलाउन दक्ष जनशक्ति छैनन्। ०७२ मै किनिएको यो मेसिन हाल अस्पतालभित्र कबाड बनिरहेको छ। तर, यही मेसिनले गर्ने सेवा लिन बिरामी निजी अस्पतालहरूमा जान बाध्य हुने गरेका छन्।
निजीमा महँगो शुल्क, तर सरकारी अस्पतालमा भएको मेसिनसमेत प्रयोग नगर्नु अस्पताल व्यवस्थापनको कमजोरी रहेको प्रतिवेदनले औँल्याएको छ। त्यस्तै, ट्रमामै २४ करोड ७७ लाख नाै हजार मूल्यको सिटिस्क्यान सिस्टम, १४ थान भेन्टिलेटर र पाँच थान सी–आर्म मेसिन पनि थन्किएका छन्। यी मेसिन चार वर्षदेखि प्रयोगविहीन भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
सरुवा रोगसम्बन्धी विशिष्टीकृत अस्पतालका रूपमा रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि उस्तै लापरबाही छ। यहाँ ७२ लाख ६० हजार मूल्यमा किनिएका लिड इसिजी केबलका ३०० सेटहरू प्रयोगविहीन बनेका छन्। स्वास्थ्य उपकरण थन्क्याउने र प्रयोगविहीन बनाउने अर्को अस्पताल हो, मधेश प्रदेशको गजेन्द्रनारायण सिंह अस्पताल। यस अस्पतालमा चार करोड ९० लाख १५ हजार मूल्यमा किनिएका इन्डो युरोलोजी सेट, एक्स–रे मेसिन, एनेस्थेसिया मेसिन र ल्याप्रोस्कोपी सिस्टम थन्किएका छन्।
प्रतिवेदनअनुसार सिंहदरबार वैद्यखाना विकास समितिभित्र रहेका स्वास्थ्य उपकरणसमेत प्रयोगविहीन छन्। यहाँ ६० प्रकारका मेसिनहरू प्रयोगविहीन रहेको प्रतिवेदनमा उल्लेख छ। ती उपकरणहरूमा अटोमेटिक क्याप्सुल फिल मेसिन, सिंगल रोटरी ट्याब्लेटिङ मेसिन र पाउडर फिलिङ मेसिन रहेका छन्।
यता नेपाल प्रहरी अस्पतालमा पनि उसैगरी स्वास्थ्य उपकरण थन्किएका छन्। यहाँ अत्याधुनिक १६ स्लाइसको सिटिस्क्यान मेसिन र १.५ टेस्लाको आधुनिक एमआरआई मेसिन प्रयोग नभएको प्रतिवेदनमा उल्लेख छ।