गैँडाकोट नगरपालिकाको सहयोगमा गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानले गायन तथा संगीत एडभान्स तालिम सुरु गरेको छ। तालिमको उद्घाटन गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले शुक्रबार गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामगादेले एक महिनासम्म सञ्चालन हुने तालिमले प्रशिक्षार्थीलाई गायन तथा संगीतमा निपुण बनाउने विश्वास व्यक्त गरे। उनले सिकेका सिपलाई व्यावसायिक रूपमा अघि बढाउन सहभागीलाई शुभकामना दिए। जेठ १ गतेदेखि सुरु भएको तालिम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ। तालिममा ३३ जना सहभागी रहेका छन्।
तालिम कार्यक्रमका संयोजक तथा प्रज्ञा–प्रतिष्ठानका संगीत विभाग प्रमुख अमर विरही गुरुङले अनुशासन, मिहिनेत र लगनशीलतासहितले सफलता हासिल गर्न सकिने बताए। उनका अनुसार तालिममा आधारभूतदेखि एडभान्स स्तरसम्म गायन र संगीत प्रशिक्षण प्रदान गरिनेछ। मादल, हारमोनियमलगायत विभिन्न बाजा सिक्न प्रशिक्षार्थीको उत्साह देखिएको उनले बताए।
कार्यक्रमका सभापति प्रज्ञा–प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले प्रशिक्षार्थीलाई शुभकामना दिँदै आफूमा निहित प्रतिभालाई उजागर गर्न आग्रह गरे। तालिममा चन्द्र घले र सुरज बज्राचार्य प्रशिक्षकका रूपमा रहेका छन्।
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले अघिल्लो वर्षको सफलतापछि प्रशिक्षार्थीकै मागअनुसार यस वर्ष पनि तालिम आयोजना गरिएको बताए। स्थानीयस्तरमा प्रचलित गीत तथा बाजाका आधारमा प्रशिक्षण दिइने उल्लेख गर्दै उनले लोकसंगीत र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा तालिमले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
प्राज्ञ सभा सदस्य लेखराम सापकोटाका अनुसार प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संगीत र कलाका क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ। उनले गायन तथा संगीत तालिमले नयाँ सर्जक उत्पादन गर्न सहयोग पुग्ने बताए।