‘नयाँ शक्ति परिवर्तनको प्रतीक बन्ने कि पुरानो गलत संस्कृतिमा विलिन हुने ?’

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य गीता गुरुङले नयाँ दलहरु परिवर्तनको प्रतीक बन्न सक्नुपर्ने बताएकी छिन्।

बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद गुरुङले भनिन्, ‘नेपालको लोकतान्त्रिक यात्रा अहिले यस्तो मोडमा छ, जहाँ नयाँ शक्तिहरू परिवर्तनको प्रतीक बन्ने कि पुरानो गलत संस्कृतिमा विलिन हुने भन्ने प्रश्नले राजनीतिक दिशालाई प्रभावित गरिरहेको छ।’

संसद् कानुन बनाउने थलो मात्र नभई पुरानो राजनीतिक संस्कार र नयाँ वैचारिक चेतनाबिचको उर्वर भूमि रहेको उनले प्रस्ट पारिन्। ‘अहिलेको संक्रमणकालीन लोकतन्त्रमा संसद् केवल कानुन बनाउने थलो मात्र होइन, त्यो पुरानो अभ्यासमा आइसकेको राजनीतिक संस्कार र नयाँ वैचारिक चेतनाबिचको उर्वर भूमि हो।’

नीति तथा कार्यक्रममाथिको छलफलमा सरकार प्रमुख र मन्त्रीहरू उपस्थित नभएकामा उनले आपत्ति जनाइन्।

केही राम्रा कार्यक्रमका बाबजुद नीति तथा कार्यक्रम लक्ष्यहीन र शब्दको भ्रमजाल जस्तो रहेको टिप्पणी गर्दै उनले ठोस रोडम्याप नदेखिएको औँल्याइन्। ‘मुलुकको वर्तमान आर्थिक संकट, बेरोजगारी, आमनागरिकको चरम निराशा हटाउने र कमजोर बनिरहेको निजी क्षेत्रको मनोबल उठाउने कुनै ठोस रोडम्याप नीति तथा कार्यक्रममा देखिएन।’
 

सुझावित समाचार