कञ्चनपुरमा आर्थिक गणनाको काम हालसम्म ५६ प्रतिशत पुगेको छ। २ वैशाखदेखि सुरु गरिएको आर्थिक गणना निरन्तर भइरहेको कार्यालयले जनाएको छ ।आर्थिक गणना कार्यालय कञ्चनपुरका जिल्ला आर्थिक गणना अधिकारी दानबहादुर ऐडीले जिल्लाभरि सबै पालिकाहरूमा एकसाथ सुरु भएको आर्थिक गणना कार्य निरन्तर भइरहेको बताए । उनका अनुसार कञ्चनपुरमा ५३ गणक र सातजना सुपरिवेक्षक गरी ६० कर्मचारी परिचालन भएका छन्।
सबैभन्दा बढी भीमदत्त नगरपालिकामा २०, बेलडाँडी, लालझाडीमा दुई–दुई गणक परिचालन भएका छन्। बेलौरी, बेदकोट, शुक्लाफाँटा नगरपालिकामा पाँच, दोधाराचाँदनी कृष्णपुर नगरपालिकामा चार र पुनर्वास नगरपालिकामा ६ गणक खटिएका हुन् । आठजना गणकबराबर एकजना सुपरिवेक्षक परिचालन गर्ने व्यवस्था गरिएको अधिकारी ऐडीले बताउँदै गणना गरिएको प्रतिष्ठानमा स्टिकरसमेत टाँसिएको छ ।
तोकिएकै समयमा जिल्लाको आर्थिक गणना गर्ने ऐरीले दाबी गरेका छन्। आर्थिक गणनाका क्रममा गणकहरूले पसल, उद्योग, संस्था, सेवा,व्यवसाय तथा अन्य आर्थिक एकाइमा पुगेर विवरण संकलन गर्न लागिएको र मुख्य रूपमा व्यवसायमा गरिएको लगानी, रोजगारीको अवस्था, वार्षिक आम्दानी–खर्च, उत्पादन तथा सेवा प्रवाह, ऋण तथा बिमाको अवस्थालगायतका विवरण संकलन गरिन लागिएको छ।
आर्थिक गणना अधिकारी ऐडीले जिल्लाका उद्योगी, व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई गणकहरू आफ्नो व्यवसाय स्थलमा आउँदा सही तथा तथ्यपरक विवरण उपलब्ध गराई सहयोग गर्न अनुरोध गरेका छन् । आर्थिक गणना कार्यालय कञ्चनपुरका जिल्ला सहायक आर्थिक गणना अधिकारी किसन खड्काले सबै पालिकामा रहेका व्यापार–व्यवसायको संख्या र घनत्वका आधारमा गणक र सुपरिवेक्षक निरन्तर परिचालन भएको बताए।
जिल्लाका गणक तथा सुपरिवेक्षकले व्यवसायस्थलमै पुगेर तथ्यांक संकलन गरिरहेको उनले बताए। उनका अनुसार यस गणनामा मुख्य रूपमा दुई प्रकारका प्रश्नावली प्रयोग गरिएको र पहिलो सूचीकरण फाराम, जसमा सबै प्रतिष्ठान तथा व्यवसायको संक्षिप्त विवरण संकलन गरिएको र दोस्रो मुख्य प्रश्नावली, जसमा सूचीकरण भइसकेका प्रतिष्ठानहरूको विस्तृत विवरण संकलन गरिन लागिएको छ।
मुख्य प्रश्नावलीका विवरण इ–सेन्सस प्रणालीमार्फत व्यवसायी आफैँले भर्न सक्ने व्यवस्था रहेको छ भने कागजी प्रश्नावलीमार्फत गणकले पनि विवरण संकलन गर्न सकिने व्यवस्था रहेको छ। उनका अनुसार आर्थिक गणनाकै लागि जिल्लाका वडाध्यक्ष, पालिका प्रमुख र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा स्थानीय आर्थिक गणना समन्वय समिति गठन गरिएको थियो। जिल्लाको आर्थिक अवस्था, उद्योग–व्यवसायको वास्तविक संख्या, रोजगारी अवस्था तथा आर्थिक गतिविधिको यथार्थ विवरण संकलन गर्न आर्थिक गणनाको उद्देश्य रहेको बताए।
देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) तथा राष्ट्रिय लेखाका अन्य अनुमानलाई सुदृढ बनाउन आवश्यक आधारभूत तथ्यांक उत्पादन हुनेछ। आर्थिक गणनामा औपचारिक तथा अनौपचारिक दुवै प्रकारका आर्थिक गतिविधि सञ्चालन गर्ने प्रतिष्ठान तथा व्यवसाय समेटिनेछन्। आर्थिक गणना स्थलगत रूपमा सञ्चालन गरिने जनाइएको छ ।
नेपालमा पहिलो आर्थिक गणना ०७५ मा सम्पन्न भएको थियो भने दोस्रो आर्थिक गणना आव ०८२/८३ मा सञ्चालन हुन लागेको हो। गणनाबाट प्रतिष्ठानहरूको आधारभूत विवरण संकलन, प्रशोधन, विश्लेषण तथा प्रकाशन गरिनेछ। साथै देशमा रहेका प्रतिष्ठानको संख्या, अर्थतन्त्रका क्षेत्रगत संरचना, आकार तथा वितरणसम्बन्धी तथ्यांक उत्पादन हुनेछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक गणनाले देशको अर्थतन्त्रको स्पष्ट खाका आउने भएकाले आर्थिक गणना महत्त्वपूर्ण मार्गदर्शक रहेको बताउँदै कर्मचारी र व्यवसायी–उद्योगीलाई स्पष्ट विवरण संकलन दिन आग्रह गरेका थिए ।