बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

बर्दियाको बारबर्दिया नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। बुधबार दिउँसो नगरप्रमुख छविलाल थारूले पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । नगरप्रमुख छविलाल थारूले पालिकाले बालबालिकाको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले भने, ‘पालिकाले पूर्णखोप सुनिश्चिततामा सफलता पाएको छ । आगामी दिनमा पनि पूर्णखोप सुनिश्चितता घोषणासँग स्वास्थ्य क्षेत्रको सुधारमा समेत पालिका लाग्नेछ ।’

नगर उपप्रमुख रत्नकुमारी पाण्डेले पूर्णखोप अभियानलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको योगदान र भूमिका महत्त्वपूर्ण रहेको बताइन्।स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायणप्रसाद चौधरीले  खोप कार्यक्रमले बाल मृत्युदर घटाउनुको साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरी रोगसँग लड्न सक्ने क्षमतासमेत बढाउने मद्दत गर्ने बताए ।

 स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले पालिकाभित्र पर्ने ११ वडामा रहेको बालबालिका पूर्ण खोप लगाएको सुनिश्चितता गरेर पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरेको जानकारी दिए । उनले भने, ‘प्रत्येक वर्ष जन्मने बालबालिकालाई खोप लगाएको  वा नलागेको सुनिश्चितता गरेर पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ ।’

राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि घोषणा गरिन्छ ।
 

सुझावित समाचार