सर्लाहीको रामनगरमा तीब्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । मंगलबार राती रामनगर गाउँपालिका–५, बैजनाथ चोकमा तीब्र गतिमा रहेको ज ७ प २६१३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक भारतको सीतामढी ग्रामपञ्चायत ढेग बस्ने वर्ष ३५ का गौरव पटेलको ज्यान गएको प्रहरीले जनाएको हो । बरहथवाबाट मधुवनी तर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भइ नयारोड–मधुवनी सडक खण्डअन्तरगत बैजनाथ चोकमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएका पटेललाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । उनको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामै राखिएको छ ।
यस्तै सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारतको सीतामढी ग्रामपञ्चायत ढेग बस्ने अन्दाजी २३ वर्षका उज्जल पटेल गम्भीर घाइते भएका छन् । उनको भारतको सीतामढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।