प्रदीप अधिकारीविरुद्ध अर्को मुद्दा

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

भ्रष्टाचार मुद्दाबाट उन्मुक्ति पाउन अन्डरवर्ल्ड खडा गरी अख्तियार प्रमुखलगायतलाई धम्क्याएको आरोपमा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौंमा पाँचवटा मुद्दा दायर गरेको हो ।

अधिकारीविरुद्ध ज्यान मार्ने आपराधिक षड्यन्त्र गर्न नहुने, आपराधिक लाभ लिन नहुने, संगठित अपराध, विद्युतीय कारोबार ऐन र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको हो । अधिकारीसहित प्रकाश पाठक र ताराप्रसाद खरेलविरुद्ध मुद्दा दायर भएको हो । पाठकले एक्ट्रिमिस्ट ग्रुप नेपाल खडा गरी अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलगायतलाई धम्क्याएका थिए । अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दा रोक्न अधिकारीले त्यसरी धम्क्याउन लगाएको प्रमाणसहित मुद्दा दायर भएको हो । तीन महिना लामो अनुसन्धानपछि तीनजनाविरुद्ध सरकारी वकिलमार्फत मुद्दा अदालतमा दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

पाठकलाई गत २८ माघमा प्रहरीले इन्टरपोलको सहयोगमा फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको थियो । राईलाई धम्क्याउनका लागि आफूलाई अधिकारीले हुन्डीमार्फत दुई करोड रुपैयाँ दिएको उनले बयानमा स्वीकार गरेका छन् । चिनियाँ व्यापारीमार्फत फिलिपिन्समा पैसा पठाइएको थियो । अधिकारी हाल भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । उनीविरुद्ध चारवटा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ ।

भ्रष्टाचार मुद्दा रोक्न उनले राजनीतिक लबिङ गर्नेदेखि अन्डरवर्ल्ड खडा गरी धम्क्याउने तथा तान्त्रिकसमेत प्रयोग गरेको छानबिनमा खुलेको छ । त्यस्तै, जेन–जी आन्दोलनपछि आफूलाई जेन–जी अगुवा भन्ने केही व्यक्तिलाई पैसा दिएर अख्तियार प्रमुखको राजीनामा माग्न पठाएको समेत प्राविधिक अनुसन्धानमा खुलेको प्रहरी स्रोत बताउँछ । यस प्रकरणमा उनलाई सघाउने नवीन बस्नेतलगायत केही व्यक्तिविरुद्ध भने प्रमाण पर्याप्त नभएको भन्दै मुद्दा नचलाउने निर्णय भएको छ ।

अनुसन्धानका क्रममा पाठकले कान्तिपुर डेन्टल कलेजका सञ्चालकलाई धम्क्याएर तारादेवी खरेलको थ्री स्टार फेन्सी स्टोरको नाममा रहेको खातामा पाँच लाख रुपैयाँ लिएको देखिएको छ । 

सुझावित समाचार