बडघर ऐन बनाउन दबाब दिँदै थारू समुदाय

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

थारू समुदायको पहिचान जोगाउनका लागि विभिन्न जिल्लाका थारू अगुवाहरूले दाङमा भेला भएर छलफल गरेका छन् । दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरामा लुम्बिनी प्रदेशको दाङसहित बाँके, बर्दिया, नवलपरासी, रुपन्देही, सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर एवं कर्णाली प्रदेशका सुर्खेतलगायतका  थारू समुदायहरू भेला भएका हुन् ।

सोमबार भएको थारू समुदायको परम्परागत अवस्थाअन्तर्गत महतवा, बरघर, भलमान्साहरूको अन्तरप्रदेशस्तरीय सम्मेलनका क्रममा थारू समुदायको पहिचान हराउँदै गएको भन्दै यसलाई जोगाउनका लागि तीनै तहका सरकार गम्भीर हुनुपर्ने वक्ताहरूले बताएका थिए ।

थारू समुदायका महतवा, बरघर, भलमान्साहरूको सहभागिता रहेको उक्त कार्यक्रममा पछिल्लो समय थारू समुदायको महतवा, बरघर, भलमान्सालगायत प्रथा हराउँदै जान थालेको लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा  महतवा, बरघर, भलमान्सा संघका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले बताए । त्यसैले थारू समुदायको पहिचान संकटमा पार्ने भन्दै यस्तो कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

संघको समन्वय तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर र पर्यटन डिभिजन कार्यालय बाँकेको आयोजनामा भएको कार्यक्रममा उनले स्थानीय तह, प्रदेश तथा संघमा समेत बरघर, महतवा, भलमान्साका लागि कानुन बनाउनुपर्ने बताए । थारू समुदायको यो प्रथाले सामाजिक एकता कायम गर्ने गरेको भन्दै यसलाई जोगाउँदा समुदायको हित हुनेसमेत पूर्वमुख्यमन्त्री चौधरीको भनाइ छ । उनका अनुसार थारू समुदायको वेशभूषा, संस्कार, संस्कृति, रहनसहनलाई जोगाउन पनि यस्तो छलफल गरिएको हो ।

त्यस अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बर्खे अधिवेशनमा बडघर विधेयक पेस हुने बताए । थारू समुदायको बाहुल्य भएको प्रदेशमा समेत बडघर ऐन निर्माणमा ढिलाइ हुनु दुःखद भएकोसमेत उनको भनाइ छ । साथै उनले थारू, मगर, मधेशी भाषालाई सरकारी कामकाजको भाषासमेत बनाउने गरी पहल लिने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुरेन्द्र चौधरीले थारू समुदायको संस्कार, संस्कृति, रहनसहनलाई पर्यटनसँग जोड्न सकिने बताए । उनले थारू समुदायको खानपानलाई बजारीकरण गरेर आम्दानीसँग जोड्नुपर्नेसमेत बताए । 

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले महतवा, बडघर, भलमन्साको विधेयक निर्माण भइसकेको भन्दै अब बस्ने संसदमा पेस हुनेसमेत बताए । 

सुझावित समाचार