सिस्नेरी–दक्षिणकाली सडकखण्डमा इभी दुर्घटना, नाै भारतीय नागरिक घाइते, तीनजनाको अवस्था गम्भीर

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २, लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडकखण्डमा इभी गाडी दुर्घटना हुँदा नाैजना भारतीय नागरिक घाइते भएका छन् । दुर्घटनामा तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब ११:१० बजे काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको इभी गाडी ब्रेक फेल भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनापछि प्रहरी चौकी खानीखेतबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवको नेतृत्वमा र प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक रामवली साहको नेतृत्वमा टोली घटनास्थल पुगेर उद्धार गरेको थियो। प्रहरीका अनुसार गाडीमा चालकसहित ११ जना सवार थिए । तीमध्ये नाैजना भारतीय नागरिक र चालकसहित दुईजना नेपाली नागरिक रहेका थिए । दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भारत बिहार दरभंगाका ६० वर्षीय रामविनय झा, ७० वर्षीया निर्मला देवी र ५५ वर्षीया अनिता देवी गम्भीर घाइते भएका छन् । उनीहरूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। यस्तै, ५६ वर्षीया प्रझा देवीको बायाँ हातमा, ५२ वर्षीया रुद्रकुमारी झाको दाहिने खुट्टामा तथा ७४ वर्षीय छत्रधर चौधरीको दुवै हातमा चोट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, ६७ वर्षीय हम्रानाथ झा, ६६ वर्षीय अमरनाथ झा र ४२ वर्षीया अनिता झा सामान्य घाइते भएका छन्। घाइते सबैलाई प्रारम्भिक उद्धारपछि बी एन्ड बी अस्पताल काठमाडौं पठाइएको थियो । पछि उनीहरूलाई अल्का अस्पताल ललितपुरमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ। इभीचालक धनुषाको लक्ष्मीनिया नगरपालिका– ४ निवासी ३० वर्षीय पिन्टु सिंह प्रहरी नियन्त्रणमा रहेका छन् । गाडीमा सवार अर्का नेपाली नागरिक २२ वर्षीय असान साफी भने सामान्य अवस्थामा आफैँ घर फर्किएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार