सडक अतिक्रमण हटाउने नाममा बाँधेर दुर्व्यवहार

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिकामा सहमति नलिई व्यक्तिको निजी जग्गामा जबर्जस्ती सडक निर्माण गरिएपछि विरोध गर्दा उल्टै अतिक्रमण हटाउन अवरोध गरेको भन्दै वडाध्यक्षले स्थानीयलाई बाँधेर दुर्व्यवहार  गरेको पाइएको छ ।औरही गाउँपालिका– ३ का वडाध्यक्ष जीवछ यादवले सोमबार बिहान सडक अतिक्रमण मुक्त गराउने नाममा स्थानीय करिब ३१ वर्षीय वीरेन्द्र साहको हात बाँधेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो । औरही– ३, पिप्रा टोलमा करिब एक वर्षअघि कृषि सडक निर्माण गर्ने क्रममा दुवैतिरबाट जग्गा नलिई एकतर्फी रूपमा आफ्नो मात्र जग्गा लिइएको पीडित साहले बताए । 

‘मेरै जग्गामा जबर्जस्ती बनाइएको सडक अतिक्रमण खाली गर्ने भन्दै वडाध्यक्षसहितको टोली दलबलसहित पुगेपछि मैले विरोध मात्र गरेको हुँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘विकासविरोधी भन्दै वडाध्यक्षकै अगुवाइमा हात बाँधेर दुर्व्यवहार  गरियो ।’ स्थानीयका अनुसार सडक अतिक्रमण खाली गराउने भन्दै सोमबार बिहान वडाध्यक्षसहितको टोली आएपछि साहले आफ्नो मात्र जग्गा कब्जा गरेर सडक बनाउन खोजिएको गुनासो गर्दै विरोध गरेका थिए । त्यसपछि वडाध्यक्ष यादवले उनको हात बाँधेर दुर्व्यवहार गर्दै सडक खाली गराएको प्रत्यक्षदर्शीहरूले बताए । 

वडाध्यक्ष यादवले भने साहले सडक अतिक्रमण गरेको दाबी गर्दै खाली गराउन आग्रह गर्न जाँदा कुटपिट गर्न खोजेपछि स्थानीयको सहयोगमा हात बाँधेर सम्झाएको मात्र जिकिर गरे । तर, सार्वजनिक भएको भिडियोमा भने वडाध्यक्षले साहको बाँधेको हात समातेर कुटपिट गर्न खोजिरहेको देखिन्छ । स्थानीय अगुवा युवा सन्तोष यादवले वडाध्यक्षले निजी जग्गामा जबर्जस्ती सडक निर्माण गरी अतिक्रमण जमिन खाली गर्ने बहानामा उल्टै नागरिकलाई बाँधेर दुर्व्यवहार  गरिनु अमानवीय हर्कत भएको भन्दै कारबाहीको माग गरेका छन् । ‘विकास मानिसका लागि गरिन्छ, मानिसलाई नै बन्धक बनाएर गरिएको यो कस्तो विकास हो ? उनले भने, ‘यस्तो अमानवीय हर्कत शक्तिको चरम दुरुपयोग हो, यस्तो अमानवीय हर्कत गर्ने वडाध्यक्षलाई तत्काल कानुनी कारबाही गरिनुपर्छ ।’

सुझावित समाचार