बर्दियाको गुलरिया नगरपालिकाका वडाहरू र सहकारी शाखाले अवलोकन भ्रमण गरेर लाखौँ रुपैयाँ खर्च गरेको पाइएको छ । गुलरिया नगरपालिकाका वडाहरू र सहकारी शाखाले अवलोकन भ्रमणमा गरेर १६ लाख २५ रुपैयाँ खर्च गरेको पाइएको हो । वडा कार्यालयले योजना बनाउँदा अवलोकन भ्रमणको लागि बजेट छुट्याउने गरेका छन् । प्रत्येक वर्ष वडाको बजेट अवलोकन भ्रमण जाने गरेका छन् । अवलोकन भ्रमण जाँदा कति जनप्रतिनिधि र कर्मचारीले आफ्नो श्रीमान, श्रीमतीलाई लगेर गएका छन् । वडाहरू अवलोकन भ्रमण जाँदा अन्य पालिकाहरूले गरेको असल अभ्यास आदानप्रदान गर्नु हो । गुलरिया नगरपालिका वडाहरूले गरेको भ्रमण हेर्दा असल अभ्यास आदान–प्रदानको साथै पारिवारिक भ्रमणजस्तो पनि देखिन्छ ।
गुलरिया नगरपालिका वडा नं. ४, ५, ७ र १२ जनप्रतिनिधि र कर्मचारीले अवलोकन भ्रमण गरिसकेका छन् भने गुलरिया नगरपालिका वडा नं. १ र ७ को वडा कार्यालयका अवलोकन भ्रमणमा जाने तयारी गरिरहेका छन् । गुलरिया नगरपालिकामा रहेको सहकारी शाखाले सहकारीका सदस्यहरूलाई आज भ्रमण लिएर गएका छन् ।
गुलरिया नगरपालिका– १ को वडा कार्यालयले कृषि अवलोकन भ्रमणका लागि दुई लाख ५० हजार रुपैयाँ, छुट्याएको छ। वडा ४ को वडा कार्यालयले जनप्रतिनिधि तथा कर्मचारीलाई सिकाइ अध्ययन भ्रमणको लागि एक लाख रुपैयाँ छुट्याएको छ । त्यसैगरी वडा ५ को वडा कार्यालयले वडा समितिका पदाधिकारी तथा कर्मचारीहरूको अध्ययन अवलोकन भ्रमणका लागि दुई लाख रुपैयाँ छुट्याएको छ। वडा ७ को वडा कार्यालयले कर्मचारी तथा जनप्रतिनिधिलाई क्षमता अभिवृद्धि गर्न अध्ययन अवलोकन भ्रमणका लागि तीन लाख बजेट छुट्याएको छ ।
वडा ९ को वडा कार्यालयले जनप्रतिनिधि तथा कर्मचारीहरूलाई अवलोकन भ्रमणका लागि एक लाख पचास हजार रुपैयाँ र सामाजिक क्षेत्रका अभियन्ता एवं अग्रज व्यक्तिहरूलाई सिकाइ अवलोकन भ्रमणका लागि एक लाख ५० हजार रुपैयाँ छुट्याएको छ । वडा नं. १२ को वडा कार्यालयले वडा कार्यालयबाट भ्रमण कार्यक्रमका लागि दुई लाख २५ हजार रुपैयाँ छुट्याएकाे छ ।
पालिकामा रहेको सहकारी शाखाले सहकारी संस्था प्रवर्द्धन तथा उत्थान व्यवस्थापन प्रणालीलाई मजबुत बनाउन सहकारीका सदस्यलाई अवलोकन भ्रमणका लागि दुई लाख ५० हजार छुट्याएको छ । वडा कार्यालयले छुट्याएको बजेटमा जनप्रतिनिधि, कर्मचारी र समाजसेवी अवलोकन भ्रमण गरिएको वडा ९ वडासचिव केशव ज्ञवालीले बताए । उनले भने, ‘वडाले निर्माण गरेको योजना अवलोकन भ्रमणको लागि बजेट छुट्याएको थियो । सोही बजेटमा जनप्रतिनिधि, कर्मचारी समाजसेवी मिलेर बागमती, गण्डकी र लुम्बिनी प्रदेशको विभिन्न जिल्लामा अवलोकन गएका हौँ ।’
वडा नं. ५ का वडा सचिव छविलाल ज्ञवालीले वडाका जनप्रतिनिधि, कर्मचारी भएर भएर पोखरा र बागलुङका पालिकाहरूको अवलोकन भ्रमण गरेको आएको बताए ।गुलरिया नगरपालिका– ४ का वडासचिव विश्वप्रकाश अधिकारीले कर्णाली प्रदेशको केही पालिकामा जनप्रतिनिधि तथा कर्मचारीलाई सिकाइ अध्ययन भ्रमण गएर आएको बताए । गुलरिया गुलरिया वडा १२ वडा कार्यालयका वडासचिव खगेन्द्र कँडेलले जनप्रतिनिधि, कर्मचारी, सामाजिक अगुवालाई समेत अवलोकन भ्रमण लगिएको जानकारी दिए। गुलरिया नगरपालिकाका प्रत्येक वडालाई ६० लाख बजेट विनियोजन गरिएको छ । जसमध्ये वडाहरूले आफ्नो तरिकाले भ्रमणका लागि बजेट छुट्याएर अवलोकन भ्रमण गरेका छन् ।