धनकुटा बजारबाट सुनको सिक्री लुटेर फरार रहेका तीनजना युवालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दुधौली नगरपालिका– ६ का ३० वर्षीय धनबहादुर भन्ने दानबहादुर तामाङ, सोही नगरपालिका– १२ का ३३ वर्षीय सन्तोष भन्ने प्रेमलाल घिसिङ र वडा नं. १० का ३८ वर्षीय राजु तामाङ रहेका छन्।
उनीहरूलाई धरान उपमहानगरपालिका– ८ स्थित बरगाछीको एक होटेलबाट गएराति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ज्ञानकुमार महताेले जानकारी दिए।
गत शुक्रबार दिउँसो मदनचोकबाट सहिदभूमि गाउँपालिका– ३ की ४० वर्षीया विष्णुमाया राईको साथबाट एक तोला दुई आनाको सुनको सिक्री लुटेर उनीहरू फरार भएका थिए।
प्रहरीले पक्राउपछि उनीहरूको साथबाट सुनजस्तो देखिने पहेँलो धातुको लकेटसहितको सिक्री एक थान, लकेटविनाको सिक्री एक थान, सिक्रीको लकेट एक थान, तिलहरी एक थान, कानका बेरुवा कुण्डल दुई थान र एक थान औँठी बरामद गरेको जनाएको छ।
त्यस्तै, प्र.३–०२–०१३ प ८००१ नम्बरको बुलेट मोटरसाइकल, बा.८२ प ९५६४ नम्बरको एनएस मोटरसाइकल तथा विभिन्न कम्पनीका मोबाइल फोनसमेत बरामद गरिएको डिएसपी महताेले बताए।
प्रहरीका अनुसार राजु तामाङको साथबाट सामसुङ, इटाली कम्पनी र कोरियन कम्पनीका मोबाइल फोन, सन्तोष भन्ने प्रेमलालको साथबाट भिभो र सामसुङ कम्पनीका मोबाइल तथा धनबहादुर भन्ने दानबहादुरको साथबाट ओपिपिओ कम्पनीको मोबाइल बरामद गरिएको छ।
पक्राउ परेका तीनैजनाविरुद्ध जिल्ला अदालत धनकुटामा चोरी–डकैतीसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आरोपितहरूले विष्णुमाया राईलाई मदनचोकस्थित एकान्त बाटोमा रोकेर कराएमा ज्यान मार्ने धम्की दिँदै उनको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएका थिए।