काठमाडौं महानगरपालिकाले निःशुल्क पिउनेपानी बुथबाट पिउनका लागि मात्र लिन आग्रह गरेको छ । सोमबार सूचना निकालेर काठमाडौंका विभिन्न आठ ठाउँमा निःशुल्क पिउनेपानी बुथबाट पिउनेपानी उपलब्ध भएको जनाउँदै खुला मञ्चमा भएको बुथमा एकजना ज्येष्ठ नागरिकले आएर भित्री कपडा धाेएकाे फुटेज सिसिटिभी क्यामेरामा देखिएकाले त्यस्तो नगर्न आग्रह गरेको छ ।
त्यस्तै, वैशाख ५ गते भेहिकल फ्री असन कार्यक्रम सुरु हुने वेलामा जमलमा भएको वाटर बुथबाट बोतलमा पानी थापेर मःमः पकाउन लगेको दृश्य विभागका अधिकारीकै सामुन्ने भएको देखिएको महानगरले जनाएको छ ।
वडा नम्बर ५ को बुथमा होलीका दिन डेढ घण्टामा तीन हजार लिटर पानी रित्तिएपछि महानगरले खोज्न सिसिटिभी फुटेज हेर्दा होली खेल्न बुथको पानी प्रयोग भएको देखिएको जनाएको छ ।