रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सुलभ फार्मेसी सञ्चालनमा ल्याएको छ । सहुलियत दरमा औषधि र औषधिजन्य सामग्री उपलब्ध गराउन नगरपालिकाले फार्मेसी सञ्चालनमा ल्याएको जनाएको छ ।
तिलोत्तमाको वडा नम्बर– ५, मणिग्राममा फार्मेसीको बुधबार शुभारम्भ गरिएको छ । तिलोत्तमा नगरपालिकाका अतिरिक्त अन्य जुनसुकै ठाउँका सेवाग्राहीले औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) मा २५.१० प्रतिशत छुट पाउने व्यवस्था फार्मेसीमा मिलाइएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
फार्मेसीको उद्घाटन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले नागरिकको स्वास्थ्य तथा दीर्घायु जीवनका लागि नगरपालिकाले काम गर्दै आएको भन्दै पालिकाद्वारा सञ्चालित औषधि पसल देशभरिका पालिकाहरूका लागि नमुना उदाहरण बन्ने दाबी गरे । मुलुकको समवृद्धिका लागि नागरिक स्वस्थ हुनुपर्ने उल्लेख गर्दै उनले विपन्न वर्गले यसबाट लाभ लिन सक्ने धारणा राखे ।
नगर प्रमुख खाँणले आउँदो वर्षदेखि पालिकाले प्याथोलोजी सेवा पनि सञ्चालन गर्ने तयारीमा रहेकोसमेत बताए । नगरपालिकाले सेवाग्राहीलाई सहुलियत दिन सञ्चालनमा ल्याएको फार्मेसीका लागि बुट्स मेडिको प्रालिसँग पाँचवर्षे सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए
सम्झौताअनुसार फार्मेसी रहेको घरभाडा नगरपालिकाले तिरिदिनेछ भने अन्य सबै छुट सेवा फार्मेसीले उपलब्ध गराउनेछ । औषधि व्यवस्था विभागबाट बिक्री–वितरणका लागि अनुमति प्राप्त स्वदेशी तथा विदेशी औषधि उत्पादक कम्पनीबाट उत्पादित सबै प्रकारका औषधि तथा औषधिजन्य सामग्री उपलब्ध हुने व्यवस्था मिलाइएको पनि भुसालले बताए ।
कार्यक्रममा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले काम गर्दै आएको भन्दै आवश्यक कार्यविधि बनाएर सर्तहरूसहित फार्मेसी सञ्चालनमा ल्याएको बताइन् ।