प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमीलाई विद्यालय सञ्चालन गर्न आठ लाख २१ हजार २५० रुपैयाँ सहयोग गरेको छ । विद्यालयममा पठनपाठन कार्यलाई सहज बनाउन र विद्यार्थीको अध्ययन वातावरण बनाउनका लागि अत्यावश्यक फर्निचरका सामग्री खरिद गर्न{ यो रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
एक कार्यक्रमबिच प्रभु महालक्ष्मीका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालले एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद भट्टलाई सो रकमबराबरको चेक हस्तान्तरण गरेकी हुन् । चेक हस्तान्तरणपछि बोल्दै अर्यालले विशुद्ध सामाजिक कार्य गर्ने संस्थालाई कम्पनीले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरिन् । कम्पनीले अतिआवश्यक क्षेत्र पहिचान गरी संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग र सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने अर्यालको प्रतिबद्धता थियो ।
त्यसैगरी, एकेडेमीका प्रधानाध्यापक भट्टले सामुदायिक विद्यालयका विद्यार्थीको पठनपाठनलाई सहज र स्तरीय बनाउन प्रभु महालक्ष्मीको सहयोग महत्वपूर्ण रहेको भन्दै कम्पनीलाई धन्यवाद दिए । कार्यक्रममा कम्पनी सञ्चालक समिति सदस्यहरू भावना बलायर, वीरेन्द्रजंग पाण्डे, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं, नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेको उपस्थिति थियो ।