सल्यान अस्पतालमा शल्यक्रिया सेवा पुनः सुरु

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

विशेषज्ञ डाक्टरको अभावमा बन्द भएको सल्यान जिल्ला अस्पतालमा शल्यक्रिया सेवा पुनः नियमित भएको छ। विशेषज्ञ डाक्टरको अभावमा चैत २८ गतेबाट शल्यक्रिया सेवा रोकिएको थियो। अस्पतालमा मेडिकल अधिकृत डा. सुमन यादवको आगमनसँगै रोकिएको शल्यक्रिया सेवा पुनः सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढामगरले जानकारी दिए । उनका अनुसार मेडिकल अफिसरको व्यवस्थापन भएसँगै सेवा सञ्चालनमा ल्याइएको हो । 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गाइनोकोलोजिस्ट पठाउने तयारीसम्बन्धी पत्र प्राप्त भइसकेको र उनी पनि छिट्टै आउने सम्भावना रहेकाले आगामी दिनमा सेवा प्रवाह अझ प्रभावकारी र सहज हुने उनकाे भनाइ छ । शल्यक्रिया सेवा अवरुद्ध हुँदा जिल्लाका बिरामीहरूले निकै सास्ती व्यहोर्नुपरेको थियो ।

सामान्यदेखि जटिल अवस्थासम्मका बिरामीहरू उपचारका लागि दाङ, सुर्खेत र नेपालगन्जजस्ता टाढाका सहरसम्म धाउन बाध्य भएका थिए । यसले उनीहरूलाई आर्थिक भार मात्रै होइन, मानसिक रूपमा पनि थकित बनाएको थियो । आकस्मिक अवस्थाका बिरामीका लागि त यो अवस्था झन् जोखिमपूर्ण बनेको थियो ।

विशेषगरी गर्भवती महिलाहरू सबैभन्दा बढी प्रभावित भएका थिए। जिल्ला अस्पतालमै सहज रूपमा सेवा पाइरहेका उनीहरू अचानक बाहिर जानुपर्ने बाध्यतामा परेपछि जोखिम बढेको थियो। समयमै उपचार नपाउँदा जटिलता बढ्ने सम्भावना रहँदा परिवारजनसमेत चिन्तित बन्नुपरेको अवस्था थियो।

जिल्ला अस्पताल सल्यानमा हरेक महिना एक सयभन्दा बढी गर्भवती महिलाहरू सुत्केरी हुने गर्छन्। तीमध्ये केही अवस्थामा शल्यक्रिया अनिवार्य हुने भएकाले सेवा बन्द हुँदा गर्भवतीलाई  निकै चुनौतीपूर्ण बनेको थियो। मिति नाघेका, जटिल वा जोखिमयुक्त गर्भावस्थाका बिरामीलाई तत्काल अन्य जिल्लामा रेफर गर्नुपर्ने बाध्यता थियो, जसले जोखिम अझ बढाउने गरेको थियो । 
 

सुझावित समाचार