पोखरा महानगरपालिकाले सञ्चालन गरेको सटल बसको खर्च कामना विकास बैंकले व्यहोर्ने भएको छ । महानगरले हवाई यात्रुलाई लक्षित गरी अन्तर्राष्ट्र्रिय पोखरा विमानस्थलदेखि अमरसिंहचोकसम्म आवतजावत गर्न निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ । महानगरले असार मसान्तसम्म सञ्चालन गर्ने उक्त सटल बस सेवाको लागत खर्च कामना सेवा विकास बैंक व्यहोर्ने गरी द्विपक्षीय सम्झौता गरिएको छ ।
सम्झौतापत्रमा पोखरा महानगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत ईश्वरीप्रसाद पोखरेल र बैंकका तर्फबाट क्षेत्रीय प्रमुख शिवकुमार ढकालले हस्ताक्षर गरेका छन् ।
क्षेत्रीय प्रमुख ढकालले स्थानीय सरकारले सर्वसाधारणका लागि गर्ने यस्ता कार्यमा बैंकले सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे । महानगरपालिकाले सञ्चालन गर्ने निःशुल्क सटल बस सेवामा सहयोग गरेकामा महानगरपालिकाका प्रशासकीय अधिकृत पोखरेलले धन्यवाद दिए । दैनिक दुईवटा विद्युतीय बसले बिहान ६ बजेदेखि राति १० बजे सम्म यात्रुलाई सेवा दिनेछन् ।