भुजुङ : होमस्टेबाटै आत्मनिर्भर

स्थानीय उत्पादनलाई गाउँमै बजार, आफ्नै ‘इकोसिस्टम’ निर्माण हुँदै, होमस्टेको मासिक एक लाख आम्दानी

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

लमजुङको क्व्होलासोथार गाउँपालिका– ४ स्थित भुजुङका स्थानीयहरू कृषि पेसामा मात्रै निर्भर हुँदा तीन दशकअघिसम्म आफ्नो जीविकोपार्जन धान्न नै मुस्किल थियो । समुद्री सतहदेखि १६–१७ सय मिटर उचाइमा रहेको भुजुङमा कृषि उत्पादन उच्च हुने भए पनि स्थानीय घरपरिवारलाई नुनतेल किन्न पनि धौधौ थियो । स्थानीय रूपमा उत्पादन हुने धान, चामल, मकै, कोदोले खान पुग्ने भए पनि नुनतेलजस्ता बाह्य वस्तु किन्न भने आर्थिक चुनौती थियो ।

तर, ०५१ बाट पर्यटन क्षेत्रमा स्थानीय संलग्न भएदेखि भने गाउँको मुहार बिस्तारै फेरिन थाल्यो । विशेष गरी गाउँमा होमस्टे सञ्चालन हुन थालेसँगै लमजुङकै विकट मानिने भुजुङ गाउँ आर्थिक रूपमा आत्मनिर्भर बन्दै आएको छ । मुख्यतः गुरुङ जातिको बस्ती रहेको करिब पाँच सय घरधुरी रहेको भुजुङमा अहिले ३३ वटा होमस्टे सञ्चालनमा छन् ।

होमस्टे सञ्चालन नगर्ने घरपरिवार पनि कृषि, भैँसी पालन, कुखुरापालन, बाख्रापालन, स्थानीय मदिरा उत्पादनलगायतका व्यवसायमा सक्रिय छन् । जसको उत्पादन ३३ वटा होमस्टेमा खपत हुन्छ । कतिपयले किराना पसल, रेस्टुरेन्टसमेत सञ्चालन गर्दै आएका छन् । यसले गर्दा होमस्टे नभएका घरपरिवारको जीविकोपार्जनमा पनि सहयोग पुगेको छ । भुजुङ ‘हनि हन्टिङ’का लागि पनि प्रख्यात छ । होमस्टे सञ्चालनबाट आत्मनिर्भर बन्ने बाटोमा अघि बढेको भुजुङ सामुदायिक होमस्टे पर्यटन विकास समितिका अध्यक्ष तुलबहादुर गुरुङ बताउँछन् ।

अहिले भुजुङको छुट्टै ‘इकोसिस्टम’ विकास भएको उनको भनाइ छ । ‘२०५० अघि बुझुङका घरपरिवार कृषि, गोठालोजस्ता क्षेत्रमा सक्रिय थिए । ६ महिना बेसी र ६ महिना लेक धाउनुपर्ने बाध्यता थियो । तर, पनि यहाँका घरपरिवारलाई नुनतेलको जोहो गर्न धौधौ थियो,’ उनले भने, ‘तर, होमस्टे सञ्चालन गर्न थालेपछि बुझुङ गाउँ नै आत्नभिर्नर बन्ने बाटोमा छ । होमस्टे सञ्चालन गर्ने परिवारले अहिले बैंक तथा सहकारीमा पैसा बचत गर्न सक्ने भएका छन् । बेँसीसहरलगायतका सुगम क्षेत्रमा जग्गा, घर, फ्लाट पनि किन्न थालेका छन् ।’ 

कसरी भयो पर्यटन विकास ?
पृथ्वी राजमार्गको डुम्रे खण्डदेखिबाट ७० किलोमिटर टाढा उत्तर क्षेत्रमा पर्ने बुझुङ गाउँ आफैँमा विकट छ । सडक, शिक्षा, बिजुलीजस्ता सामाजिक तथा भौतिक पूर्वाधारबाट समेत पछाडि परेको भुजुङ गाउँमा पर्यटक विकास हुने कल्पना नै थिएन । तर, ०५० को दशकपछि भने बुझुङ गाउँमा पर्यटनमार्फत आर्थिक क्रान्ति नै भएको छ । विशेषगरी ०७५ यता भुजुङले पर्यटनमा फड्को मारेको स्थानीयहरू बताउँछन् । मुख्यतः ०५१ सालमा गाँउमा होमस्टे तथा पर्यटन विकास सुरु भएको हो । त्यसवेला अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) सुरु भइसकेका थियो । अन्नपूर्ण संरक्षण क्षेत्रको सिमानामा भुजुङ पनि पर्छ, परियोजनाले बुझुङमा आफ्नो एउटा कार्यालय स्थापना गरिसकेको थियो । सोही कार्यालयले भुजुङमा पर्यटन विकासमा सहयोग पुर्‍याएको हो । मुख्यगरी एक्यापले पर्यटन विकासको सवालमा यहाँको आमा समूहलाई जागरुक बनाएको थियो । भुजुङले पर्यटनमार्फत आम्दानी गर्न सकिन्छ भन्ने मनाङ र मुस्ताङबाट पाठ सिकेको अध्यक्ष गुरुङ सिकाउछन् । यसैगरी, २०५६ मा जापानले पनि पर्यटन विकास सम्बन्धमा सहयोग पुर्‍याएको उनको भनाइ छ ।

‘०६८ मा बुझुङमा २६ वटा होमस्टे सञ्चालनमा आइसकको थियो । पर्यटन विकासकै क्रममा हामीले ०७२–७३ मा छुट्टै सामुदायिक होमस्टे पर्यटन समिति बनाएर दर्ता गर्‍यौँ । त्यसपछि होमस्टे सञ्चालनका लागि निश्चित मादपदण्डसमेत बनायौँ । मापदण्ड बनाउँदा २६ होमस्टे १६ मा सीमित भयो,’ उनले भने, ‘त्यसपछि हामीले मापदण्डअनुसार नै होमस्टे थप गर्न प्रोत्साहन गर्‍यौँ । ०७५ मा बुझुङ पर्यटन महोत्सव पनि गर्‍यौँ । अहिले यहाँका ३३ होमस्टे सञ्चालनमा छन् । होमस्टेको संख्या कम नै छ । यो संख्या बढाउने गरी पनि काम गरेका छौँ ।’

मौलिक गाउँ नै पर्यटकको आकर्षण
मुख्यतः भुजुङको पराम्परागत शैलीको मौलिक गाउँ नै पर्यटकको आकर्षण विन्दु मानिन्छ । झन्डै पाँच सय घरधुरी रहेको बुझुङ गाउँका अधिकांश घर ढुंगाले छाएका छन् । ९०–१०० वर्ष पुराना घरसमेत यहाँ छन्, जसलाई ‘रि–इनोभेट’ गरिएको छ । भिरालो जमिनमा लोभलाग्दा ढुंगेघर बनाइएको छ । त्यो नै यहाँको प्रमुख आकर्षण भएको अध्यक्ष गुरुङ बताउँछन् । यसैगरी, यहाँको स्थानीय कला, संस्कृति, प्राकृतिक सम्पदा, कृषि र ढुंगेघर पनि पर्यटकको आकर्षणको विन्दु भएको उनले बताए । यसैगरी, घाटु नाचलगायतका संस्कृति पनि पर्यटकको आकर्षणको विन्दु छ । 

मासिक हजारभन्दा बढी पर्यटक 
भुजुङमा होमस्टे सञ्चालन गर्दै रामचन्द्र गुरुङका अनुसार भुजुङमा सिजनमा मासिक एक हजारभन्दा बढी पर्यटक आउने गर्छन् । बर्खाको समयमा समेत मासिक ५० जनाभन्दा बढी पर्यटन आउने गरेको उनको भनाइ छ । समितिले उनीहरूलाई पालैपालो होमस्टेमा राख्नेछ । यसले व्यवसायमा समानता ल्याएको छ । सबै होमस्टेको मूल्यसूचीमा पनि समान छ । यहाँ एक होमस्टेले मासिक एक लाख रुपैयाँसम्म कमाउने गरेको उनी बताउँछन् । 

होमस्टेमा पाइने खानामा अधिकांश स्थानीय परिकार नै छन् । खानामा लोकल चामलको भात, कोदोको ढिँडो, कोदोको सेलरोटी, मकै, भट्टजस्ता परिकार उपलब्ध छन् । पाहुनाको आग्रहमा लोकल कुखुरा, खसी, भेडाको मासु पनि उपलब्ध हुनेछ । होमस्टेमा चाहिने ८० प्रतिशत परिकार स्थानीय उत्पादनमा आधारित रहेको होमस्टे सञ्चालकहरू बताउँछन् । भुजुङमा मकै, धान, कोदो, भट्ट, दाल, आलु, मह, चियाजस्ता खाद्यान्न उत्पादन हुन्छन् । यसैगरी यहाँका मानिसले व्यावसायिक रूपमा भेडाबाख्रापालन गर्दै आएका छन् । गाउँमै होमस्टे हुँदा स्थानीय उत्पादनले बजार पाएको रामचन्द्र गुरुङ बताउँछन् ।

राज्यबाट पवर्द्धनको अपेक्षामा भुजुङ
भुजुङ गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरकारले थप सहयोग गर्न आवश्यक रहेको अध्यक्ष गुरुङ बताउँछन् । ‘विशेषगरि सरकारले गुणस्तरीय सडक बनाएर सहयोग गर्नुपर्नेछ । बुझुङमा सडक पहुँच छ । तर, त्यो कच्ची छ । पाहुनाहरूले धेरै नै दुःख पाएका छन् । तसर्थ, सरकारले सडकजस्ता पूर्वाधार बनाएर सहयोग गर्नुपर्छ । सडक कालोपत्रे गर्नुपर्छ,’ उनले भने, ‘पर्यटनका लागि अझै पनि यो कुमारी गाउँ हो । तसर्थ, सरकारले भुजुङ गाउँ र यहाँको होमस्टेलगायतलाई प्रवर्द्धन गर्न आवश्यक छ ।’ यसैगरी ढल, गोरेटे बाटो निर्माणमा पनि स्थानीय तह र प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनी बताउँछन् । यसैगरी हनी हन्टिङलाई पनि प्रवर्द्धन गर्नपुर्ने उनी बताउँछन् ।

यसैबिच मदन भण्डारी मेमोरियल कलेजमा स्ताकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले बिहीबार र शुक्रबार लमजुङको घले गाउँ र भुजुङमा प्रयोगात्मक भ्रमण गरेको छ । भ्रमणका क्रममा लमजुका पर्यटन, स्थानीय संस्कृति, होमस्टेजस्ता विषयमा अनुसन्धानका विषयवस्तु पहिचान र मिडिया लिट्रेसीका कार्यक्रम गरिएको पत्रकारिता विभागका प्रमुख सुनील पौडेलले जानकारी दिए । 

See More On

सुझावित समाचार