हेटौँडा उपमहानगरपालिकाले खोला तथा नदी किनारमा सवारीसाधन धुन (सफा गर्न) पूर्ण रूपमा निषेध गरेको छ । सवारीसाधनहर खोला किनारमा धुने क्रममा निस्कने मोबिल, ग्रिज र डिटरजेन्टजस्ता रसायन खोलामा मिसिँदा जलप्रदूषण बढ्ने तथा जलचर प्राणी र पर्यावरणमा गम्भीर असर पर्ने भन्दै उपमहानगरपालिकाले निषेध गर्नुपरेको जनाएकाे छ ।
उपमहानगरपालिकाले जरुरी सूचना जारी गर्दै नगर क्षेत्रभित्र पर्ने राप्ती र कर्रा खोलालगायतका जलाधार क्षेत्रमा सवारीसाधन धुने कार्य बढ्दै गएको पाइएको भन्दै तत्काल प्रभावबाट प्रतिबन्ध लगाइएको उल्लेख गरेको छ । सूचनाअनुसार अब नगर क्षेत्रभित्रका कुनै पनि खोला वा नदी किनारमा सवारीसाधन धुने कार्य पूर्ण रूपमा निषेध गरिएको छ ।
नियम उल्लंघन गर्ने व्यक्तिलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम जनही पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गरिने भएको छ। साथै त्यस्ता सवारीसाधनलाई नगर प्रहरीले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउने उपमहानगरपालिकाले जनाएको छ । नगरलाई स्वच्छ, सफा र सुन्दर राख्न नगरबावासी, सवारीधनी तथा चालकलाई सहयोग गर्न उपमहानगरपालिकाले आग्रहसमेत गरेको छ ।