पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई सरकारको अपरिपक्व निर्णय भएको टिप्पणी गरेकी छिन्।
शनिबार जारी प्रेस विज्ञप्तिमा उनले उक्त कदमले दूरगामी प्रभाव पार्ने र मुलुकमा अस्थिरताको जोखिम बढाउन सक्ने भन्दै चिन्ता व्यक्त गरिन्। कार्की आयोगको प्रतिवेदन पूर्ण नभएको सन्दर्भमा सरकार गठन भएको पहिलो दिनमै त्यसको कार्यान्वयन गर्दै पक्राउ गर्नु संवेदनशील र असंगत भएको उनको भनाइ छ।
भण्डारीले यस्तो निर्णय वर्तमान संविधान, प्रचलित कानुन र स्थापित लोकतान्त्रिक अभ्याससँग मेल नखाने उल्लेख गर्दै कुनै पनि आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन र संस्थागत परामर्श आवश्यक हुने बताइन्।
साथै, भण्डारीले सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणमा गम्भीर हुन आग्रह गरेकी छिन्।
