संसद् छिर्नुअघि रास्वपा सांसदलाई ‘संसदीय पाठशाला’

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

निर्वाचनबाट झन्डै दुईतिहाइ जनादेश प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदलाई संसद् प्रवेशअघि नै संसदीय अभ्यासबारे प्रशिक्षण दिन थालेको छ । प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूका लागि ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबारदेखि दुईदिने आवासीय अभिमुखीकरण कार्यक्रम सुरु हुँदै छ । 

पार्टीले कार्यक्रमलाई अनिवार्य बनाउँदै सांसदहरूलाई उपस्थित हुन निर्देशन दिएको छ । अभिमुखीकरणको प्रक्रिया र विषयवस्तु सार्वजनिक नहोस् भनेर रास्वपाले ६ बुँदे कठोर निर्देशनसमेत दिएको छ । प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद निर्वाचित भएका छन् । तीमध्ये १३ जना दोहोरिएका छन् भने अरू नयाँ हुन् । त्यसमा पनि कतिपय राजनीतिक पृष्ठभूमि नरहेका छन् । 

निर्देशनअनुसार कार्यक्रम पूर्ण रूपमा आवासीय हुनेछ । सहभागी सांसदहरूले खाना र आवास ‘सेयरिङ बेसिस’मा उपयोग गर्ने व्यवस्था गरिएको छ । कार्यक्रम हलमा मोबाइल प्रयोग निषेध गरिएको छ भने अन्य व्यक्ति वा पाहुनालाई प्रवेश नदिने व्यवस्था गरिएको छ । ‘व्यावसायिक क्याजुअल’ पोसाकमा सहभागी हुन निर्देशन छ । 

यस्तै, सांसदहरूलाई परिवार सदस्य, साथी वा अन्य अतिथि आमन्त्रण नगर्न पनि निर्देशन दिइएको छ । होटेलपरिसर वा बाहिर पार्किङ गर्न पाइने भए पनि चालक तथा अन्य सहयोगी सदस्यको भोजन र आवासको व्यवस्था सांसदकै जिम्मेवारीमा रहने उल्लेख गरिएको छ । सहमहामन्त्री विपिन आचार्यका अनुसार पार्टीबाट निर्वाचित १८२ सांसदलाई प्रशिक्षण दिन लागिएको हो । ‘कार्यक्रम प्रारम्भिक स्तरको ‘बेसिक ओरियन्टेसन’ हो,’ उनले भने, ‘सबै सांसद एकैपटक एउटै प्लेटफर्ममा भेटिएका छैनन् । पार्टीका दृष्टिकोण, संसदीय अभ्यास र आगामी जिम्मेवारीबारे साझा बुझाइ बनाउन पहिलो चरणको अभिमुखीकरण गरिएको हो ।’

उनका अनुसार कार्यक्रममा पार्टीका विचार, निर्वाचनका क्रममा सार्वजनिक गरिएको वाचापत्र तथा नागरिकसँग गरिएको प्रतिबद्धताबारे छलफल हुनेछ । साथै, संसद्मा काम सुरु गर्दा ध्यान दिनुपर्ने प्रारम्भिक अभ्यासबारे जानकारी गराइनेछ । आचार्यका अनुसार अभिमुखीकरण औपचारिकभन्दा बढी अन्तरक्रियात्मक प्रकृतिको हुनेछ । ‘यो एक प्रकारको ‘आइसब्रेक’ कार्यक्रम पनि हो । एक–अर्कालाई चिन्ने, अनुभव आदान–प्रदान गर्ने र आधारभूत ज्ञान साझा गर्ने उद्देश्य छ,’ उनले नयाँ पत्रिकासँग भने । 

कार्यक्रममा यसअघि संसद्मा काम 
गरिसकेका सांसदहरूले आफ्नो अनुभव सुनाउनेछन् भने नयाँ सांसदहरूले चुनावी अभियानका अनुभव र जनअपेक्षाबारे धारणा राख्ने बताइएको छ । ‘संसदीय मामिलाका जानकार तथा मन्त्रालयसँग अनुभव भएका विज्ञहरूलाई पनि प्रशिक्षणका लागि आमन्त्रित गरिएको छ,’ उनले भने । 

सुझावित समाचार