मतदाताको देशव्यापी समर्थन पाएको रास्वपाले मोरङका ६ वटै निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ । रास्वपाको ‘क्लिन स्विप’ले मोरङ ६ मा कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालको विरासत पनि तोडिएको छ । अन्य निर्वाचन क्षेत्रमा पनि पहिले जित हासिल गर्दै आएका कांग्रेस, एमाले र नेकपाका उम्मेदरवा सबै फराकिलो मतान्तरले पराजित भएका छन् ।
०७९ को निर्वाचनमा मोरङमा १, ३ र ६ मा कांग्रेस, २ मा एमाले, ४ मा नेकपा (तत्कालीन माओवादी) र ५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । ०७९ मा मोरङ ६ मा कांग्रेसका कोइराला, ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल, ४ मा माओवादीका अमनलाल मोदी, ३ मा कांग्रेसका सुनील शर्मा, २ मा एमालेका ऋषि पोखरेल र १ मा कांग्रेसका डिकबहादुर लिम्बू विजयी भएका थिए ।
संविधानसभाको ०६५ को उपनिर्वाचनदेखि नैै मोरङ ६ मा निरन्तर जित हासिल गर्दै आएका कांग्रेस नेता कोइराला यसपटक रास्वापकी रुविना आचार्यबाट ४२ हजार ६६३ मतको फराकिलो मतान्तरले पराजित भए । रुविनाले ५५ हजार ५१३ र कोइरालाले १२ हजार ८५० मत प्राप्त गरे । कोइरालाले ०७० र ०७९ मा पनि जित हासिल गरेका थिए । मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशीले ४० हजार ८३३ मतसहित कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई पराजित गरे । घिमिरेले १२ हजार ८१८ मत मात्र प्राप्त गरे । ०७४ र ०७९ मा विजयी भएका नेकपाका अमनलाल मोदीले १० हजार ७६२ मतमै चित्त बुझाउनुपर्यो ।
सार्वजनिक अन्तिम मतपरिणामअनुसार मोरङ ५ मा रास्वपाकी आशा झा ३० हजार ४३४ मत पाएर विजयी भइन् । प्रतिद्वन्द्वी कांग्रेसका फुलकुमार लालवानीले नौ हजार ४१५ मत प्राप्त गरे । जसपाका राजकुमार यादवले आठ हजार ७४७ र नेकपाका शिवकुमार मण्डलले आठ हजार ७१४, एमालेका मनोज अग्रवालले ६ हजार १४५ मत पाए । ०७९ को निर्वाचनमा मोरङ ५ मा एमालेका बागी स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका थिए । यसपटक ऊर्जाशील पार्टी खोलेर प्रतिस्पर्धा गरेका योगेन्द्रले चार हजार १९९ मत मात्र प्राप्त गरे ।
मोरङ २ मा पनि रास्वपाका कृष्णकुमार कार्की विजयी भए । प्रतिद्वन्द्वी एमालेका दिलीपकुमार अग्रवाललाई पराजित गर्दै रास्वपाका कार्की फराकिलो मतान्तरले विजयी भए । कार्कीले ४० हजार ९२४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी एमालेका अग्रवालले १५ हजार ६२४ मत पाए । कांग्रेसका मीनेन्द्र रिजालले १२ हजार ७६४ र श्रम संस्कृति पार्टीका अबुहो रैरहले एक हजार ८२२, नेकपाका चन्द्रवीर राईले एक हजार ३६६ मत पाए । यो क्षेत्रमा ०७० मा कांग्रेसका मीनेन्द्र रिजाल र ०७९ मा एमालेका ऋषि पोखरेल विजयी भएका थिए ।
मोरङ १ मा रास्वपाकै यज्ञमणि न्यौपाने विजयी भएका छन् । प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामालाई पराजित गर्दै रास्वपाका न्यौपाने विजयी भएका हुन् । न्यौपानेले २७ हजार ३६७ मत पाए । श्रम संस्कृतिकी पाख्रिनले १७ हजार ५२२ मत पाइन् । कांग्रेसका खडग फागोले ११ हजार १८६, एमालेका घनश्याम खतिवडा नौ हजार ८२३ र नेकपाका कुलप्रसाद साम्बाले दुई हजार २२४ मत प्राप्त गरे । यो क्षेत्रमा ०७९ मा कांग्रेसका डिकबहादुर लिम्बू र ०७४ मा एमालेका घनश्याम खतिवडा विजयी भएका थिए ।
मोरङ ३ मा रास्वपाका गणेश कार्की विजयी भए । प्रतिद्वन्द्वी कांग्रेसका सुनील शर्मालाई १२ हजारभन्दा बढी मतले पराजित गर्दै कार्की विजयी भएका हुन् । कार्कीले ३६ हजार ९२४ मत प्राप्त गरे । कांग्रेसका शर्माले २४ हजार ३५४ मत पाए । श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५०९ र एमालेका इरनकुमार राईले सात हजार ५५२ र नेकपाका देउमान साम्बाहाम्फे एक हजार २५९ मत प्राप्त गरे । सात लाख ८३ हजार ५० जना मतदाता रहेको मोरङमा पाँच लाख ५५ हजार १४ जनाले मतदान गरेका थिए ।