प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार भएको मतदानअन्तर्गत नेपाली कांग्रेसले हिमालपारिको जिल्ला मुस्ताङबाट खाता खोलेको छ। एक क्षेत्र रहेको मुस्ताङबाट कांग्रेसका ३२ वर्षीय योगेश गौचन थकालीले अन्य सातजना प्रतिस्पर्धीलाई पछि पार्दै जित निकालेका हुन्।
विजयी गौचनले तीन हजार ३०७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधाराडादु विष्टले एक हजार ८०६ मत ल्याएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्रबहादुर ज्ञवालीले जानकारी दिए।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अधितीयचन्द्र थकालीले ७५९, राप्रपाकी कमला लालचनले १६१, नेकपाका ङुटुक गुरुङले १५१, उज्याले नेपालका सुरेन्द्र शेरचनले ८५, आम जनता पार्टीका अजय विकले नौ, मंगोल नेसनल अगनाइजेसनका यमबहादुर गुरुङले तीन मत पाएका छन्।
मुस्ताङमा कुल ११ हजार ३२८ जना मतदाता रहेकोमा ५६.४५ प्रतिशत मत खसेको थियो। खसेको मतमध्ये १०७ मत बदर भएको छ।
दोस्रोपटक बाजी
योगेशले दोस्रोपटक बाजी मारेका हुन्। उनी ०७९ को निर्वाचनमा समेत मुस्ताङबाट विजयी भएका थिए। अघिल्लोपटक उनी तीन हजार ९९२ मत ल्याएर विजयी हुँदा एमालेका प्रेमप्रसाद तुलाचनले तीन हजार ७८ मत ल्याएका थिए।
योगेश कांग्रेस मुस्ताङका पूर्वजिल्ला सभापति एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। ०७९ को निर्वाचनमा पार्टी केन्द्रले जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाको उम्मेदवारको लागि रोमीलाई टिकट दिएर पठाएको थियो। रोमीले आफू उम्मेदवार नबनी २९ वर्षका छोरालाई टिकट दिँदै प्रतिनिधिसभाका लागि अघि सारेका थिए।
०७४ को निर्वाचनमा रोमी प्रेम प्रसादसँग पराजित भएका थिए। पाँच वर्षअघि आफूलाई हराएका प्रेम प्रसादसँग भिड्न रोमीले ०७९ मा छोरा योगेशलाई अघि सारेका थिए।
०७९ मा काग्रेससँगै तत्कालीन माओवादी, एकीकृत समाजवादीलगायतका पार्टीको गठबन्धन रहेकाले प्रेम प्रसादलाई पाखा लगाउन योगेशका लागि सहज भएको थियो। त्यसको करिब तीन वर्षपछि योगेशले पार्टीको एकल प्रयासमा एमाले दोस्रोपटक बाजी मार्न सफल भएका हुन्।