हिमाली जिल्ला ताप्लेजुङका दुर्गम चार मतदान केन्द्रका मतपेटिका नेपाली सेनाकाे हेलिकोप्टरमार्फत सदरमुकाम फुङलिङ ल्याइएको छ। हिमाली भेगमा अवस्थित ओलाङचुङगोला, यांमा, घुन्सा र ग्याब्ला मतदान केन्द्रका मतपेटिका शुक्रबार बिहान हेलिकोप्टरबाट सुरक्षित रूपमा ल्याएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको छ।
जिल्लाको उत्तरी हिमाली क्षेत्रमा पर्ने यी गाउँहरू सडक सञ्जालबाट टाढा रहेका कारण मतपेटिका स्थलमार्गबाट ल्याउन कठिन हुने भएकाले हेलिकोप्टर प्रयोग गरिएको निर्वाचन कार्यालयले जनाएको छ। मतदान सम्पन्न भएपछि मतदान अधिकृत तथा सुरक्षाकर्मीको टोलीले मतपेटिकालाई सुरक्षित राख्दै हेलिकोप्टरमार्फत सदरमुकाम ल्याएका हुन्।
निर्वाचन अधिकारीका अनुसार मौसम अनुकूल भएका वेला बिहानैदेखि हेलिकोप्टर उडान गराई मतपेटिका संकलन गरिएको छ। सबै मतपेटिका सदरमुकाम ल्याइसकिएको र अब मतगणनाको तयारी भइरहेको छ।
जिल्लामा रहेका अन्य मतदान केन्द्रका मतपेटिका भने स्थलमार्गबाटै सदरमुकाम ल्याइँदै छन्। सबै मतपेटिका संकलन भएपछि जिल्ला अदालतपरिसरमा तोकिएको स्थानमा मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लामा ८० स्थानमा १२७ मतदान केन्द्र रहेका थिए । जिल्लामा ५१.४५ प्रतिशत मत खसेको छ ।