निर्वाचन सुरक्षाबारे राष्ट्रिय सुरक्षा परिषद्को समीक्षा : तयारी पर्याप्त रहेको निष्कर्ष

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा भएको निष्कर्ष राष्ट्रिय सुरक्षा परिषद्ले निकालेको छ।

सिंहदरबारमा बसेको परिषद्को  बैठकले निर्वाचनकेन्द्रित सुरक्षा संयन्त्रको समग्र अवस्थाको समीक्षा गर्दै मतदान प्रक्रियामा कुनै कमी-कमजोरी हुन नदिने प्रतिबद्धता दोहोर्याएको हो। बैठकमा सुरक्षा तयारी, स्रोत–साधनको उपलब्धता तथा निकायगत समन्वयबारे विस्तृत छलफल गरिएको जनाइएको छ।

राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले उपलब्ध सुरक्षा संरचना र जनशक्ति निर्वाचन सञ्चालनका लागि पर्याप्त रहेको ठहर गरेको छ। रक्षा मन्त्रालयका अनुसार देशभर शान्ति सुव्यवस्था कायम राख्न सम्बन्धित सुरक्षा निकायलाई थप सुदृढ र समन्वयात्मक ढंगले परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

निर्वाचन अवधिभर कुनै अवाञ्छित गतिविधि हुन नदिन पूर्वतयारीलाई प्राथमिकतामा राखिएको परिषद्ले जनाएको छ। साथै, राष्ट्रिय सुरक्षासँग सम्बन्धित बहुआयामिक चुनौती, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशमा देखिएका घटनाक्रमले पार्न सक्ने सम्भावित प्रभाव र आगामी रणनीतिक प्राथमिकताबारे समेत बैठकमा विचार–विमर्श भएको जानकारी दिइएको छ।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल तथा प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थिति रहेको थियो।

सुझावित समाचार