निर्वाचन आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न गराउन अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, र भयमुक्त वातावरणमा सम्पन्न गर्न कडाइका साथ आचारसंहिता कार्यान्वयन गर्न निर्देश गरेको हो। मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने आचरण परिपालनालाई आयोगले जोड दिँदै आएको छ।
‘...आचारसंहिता तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका कार्य गरेको पाइएमा ऐनको अधीनमा रही जिल्ला आचारसंहिता अनुगमन समितिसमेतको सहकार्यमा अनुगमनकर्ताको अधिकारको प्रयोग गरी निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न गराउन निर्देशन गरिएको छ,’ आयोगले विज्ञप्तिमा भनेको छ।
