राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० वटा बस्तीलाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने बबई गाउँपालिकाको वडा नं. १ र ७ का १० वटा बस्तीलाई निकुञ्जभित्रबाट स्थानान्तरण गर्न सिफारिस गरिएको हो । गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले मंगलबार निकुञ्जलाई उक्त सिफारिस गरेका हुन् । पालिकाका किउरेनी, बन्चरे, बाटुले, गौजे, जिला, सिमलकुना, डाँडागाउँ, कप्ताने, जलजला, मलईलाई निकुञ्जभित्रबाट अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने अध्यक्ष खत्रीले बताए ।
त्यहाँका बस्तीहरूमा बाँके राष्ट्रिय निकुञ्ज घोषणा हुनुभन्दा ५० वर्षभन्दा पहिले नै मानव बसोबास रहेको भए पनि हाल राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले नागरिकले निकै दुःख पाउने गरेको अध्यक्षको भनाइ छ । ‘त्यहाँ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकोले त्यस क्षेत्रका नागरिकाहरूलाई राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरले मानवीय तथा घरपालुवा जनावर एवं बालीनालीमा क्षति पुर्याउने गरेका छन्,’ उनले भने, ‘तर, पनि त्यहाँका नागरिकलाई जोखिमयुक्त स्थानमा बसोबास गर्नुको विकल्प नरहेको र राष्ट्रिय निकुञ्ज भएकै कारणले तीनवटै तहका सरकारबाट पूर्वाधार विकासका लागि बजेटको व्यवस्था गर्नसमेत नसक्दा राज्यले दिने सुविधाबाट वञ्चित भएको अवस्थामा त्यहाँबाट बस्ती सार्नुको विकल्प छैन।’
सोही क्षेत्रमा बसोबास गर्ने पीडित नागरिकहरूको जिउधनको सुरक्षा र राज्यको तर्फबाट नागरिकलाई उपलब्ध गराइने सेवा, सुविधाको पहुँच पुर्याउन र राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई पनि कायम राख्न बस्ती स्थानान्तरण गर्न आवश्यक रहेको अध्यक्ष खत्रीले बताए । पीडित नागरिक आक्रोशित हुँदै आगामी प्रतिनिधिसभाको निर्वाचनमा भोट नहाल्नेसमेत निर्णय गरेका थिए । अहिले त्यहाँका नागरिकको विद्रोहले गर्दा कुनै पनि उम्मेदवार भोट माग्नसमेत गएका छैनन् ।
विगतमा सोही ठाउँमा सबैजसो उम्मेदवारहरू भोट माग्न सोही ठाउँमा पुग्ने गर्थे । त्यहाँ सडक सञ्जालको पनि सहज पहुँच छैन । फोनले पनि राम्रोसँग काम गर्दैन । जंगली जनावरले बालीनाली खाइदिँदा पनि त्यसलाई छुन पनि नमिल्ने अवस्था रहेको छ ।